शिक्षा क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप रोक्न : शिक्षामन्त्री भट्टराई

बकैया दर्पण संवाददाता
१३ भाद्र २०८१, बिहीबार ०९:४४

बकैया दर्पण : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलगायत शिक्षा क्षेत्रमा हुने गरेको राजनीतिक हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता चाहिने बताएकी छिन् । बुधबार शिक्षा मन्त्रालयमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै शिक्षा क्षेत्रमा देखिएको राजनीतिक समस्याको समाधान राजनीतिक दलहरूबाटै खोजिनुपर्ने बताइन्।

त्यसका लागि शिक्षा मन्त्रालयले पहलसमेत थालेको उनको भनाइ छ । ‘कांग्रेस, एमाले, माओवादी, समाजवादी, रास्वपाका महामन्त्रीहरू डाकेर छलफल गरेको थिएँ,’ उनले भनिन्, ‘कार्यव्यस्तताले कांग्रेस, माओवादीका महासचिव आउन सक्नु भएन । खासै निर्ष्कष निस्किएको छैन ।’

शिक्षामन्त्री भट्टराईले त्रिविमा देखिएको समस्या पुनः राजनीतिक दलहरूसँग संवाद गर्ने समेत बताइन् । ‘मन्त्रालयले सिधै विश्वविद्यालयमा धेरै प्रवेश मिल्दैन । राजनीतिक हस्तक्षेपका विषयमा मन्त्रालय मात्र हाबी भए समाधानभन्दा पनि टसल हुन्छ,’ उनले भनिन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसँग समन्वय नभएर भन्दा पनि सार्वजनिक निकायमा सार्वजनिक रूपमै आफूहरूले सुरक्षा व्यवस्था गर्न माग गरेको उनले प्रस्ट पारिन् । राजनीतक दलहरुको प्रतिबद्धता नआएसम्म शिक्षा क्षेत्रको हस्तक्षेप अन्त्य गर्न नसकिनेसमेत शिक्षा मन्त्री भट्टराईले बताइन् । छलफलमा उनले आफ्नो डेढ महिने कार्यकालका काम र भावी योजनाहरूबारे चर्चा गरेकी थिइन् ।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा तथा स्वास्थ्य समिति छलफल अघि बढाइएको, उच्च शिक्षासम्बन्धी एकीकृत छाता विधेयक र प्राविधिक शिक्षासम्बन्धी विधेयक अघि बढाउने गृहकार्य भइरहेको उनले जानकारी दिइन् । ‘प्राविधिक शिक्षासम्बन्धी विधेयक अर्थ मन्त्रालय पुगेको छ । उच्चशिक्षा विधेयक पनि ल्याउने तयारीमा छौं,’ उनले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*