मकवानपुरमा पनि भेटिए हैजा संक्रमित, यो हप्ता मात्रै ९ जना विरामी

बकैया दर्पण संवाददाता
८ भाद्र २०८१, शनिबार १३:४१

बकैया दर्पण : यो हप्ता देशभर ५ सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार भदौ ३ गतेसम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगु पुष्टि भएकोमा भदौ ८ गतेसम्म आइपुग्दा यो संख्या बढेर ५ हजार ११९ जना संक्रमित पुगेको छ।

यस्तै डेंगु संक्रमणबाट यो वर्ष हालसम्म ३ जना विरामीको मृत्यु भएको इडिसिडीले जनाएको छ। यस्तै हालसम्म तनहुँ जिल्ला डेंगुको रेड जोनमा परेको छ। डेंगुको ५ सयभन्दा बढी संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्ने गरिन्छ।

इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्। अघिल्लो हप्ता तनहुँमा हाल ७८१ जनामा डेंगु पुष्टि भएकोमा यो हप्ता १ हजार ४५ जना पुगेका छन्। त्यसैगरी दोस्रोमा काठमाडौँमा ४२१ जना संक्रमित रहेका छन्।

अघिल्लो हप्ता काठमाडौंमा ३८० जना संक्रमित थिए। त्यसपछि क्रमशः कास्कीमा ४०८, पर्वतमा २७२ र चितवनमा ४६८ जनामा डेंगु पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगु देखिएको छ। यो वर्ष हालसम्म डेंगुबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

हैजा संक्रमित ६७ जना पुगे

डेंगु संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। इडिसिडीको विवरणअनुसार हाल हैजाका संक्रमितको संख्या ६७ पुगेको छ। अघिल्लो हप्ता सम्म हैजाका संक्रमित ५८ जना थियो। यो हप्ता ९ जना हैजाका नयाँ विरामी भेटिएका छन्।

इडिसिडीका विवरणअनुसार यो हप्ता ललितपुरमा ६ वटा, काठमाडौंमा २ वटा र मकवानपुरमा एकजना हैजाका नयाँ विरामी भेटिएका छन्।

यो वर्ष अहिलेसम्म ललितपुरमा ४७ जना, कैलालीमा ८ जना, काठमाडौँमा ९ जना र प्यूठानमा २ जनामा हैजाको जीवाणु पाइएको छ। यस्तै यो हप्ता मकवानपुरमा हैजा संक्रमित भेटिएका छन्।

योसँगै यो वर्ष ५ वटा जिल्लामा हैजा संक्रमित भेटिएका छन् तर हैजाका कारण हालसम्म यो वर्ष कसैको मृत्यु भएको छैन। हाल ४ जना संक्रमित अस्पतालमा भर्ना भएर उपचार गराइरहेको इडिसिडीले जनाएको छ।

अघिल्लो वर्ष हैजाका विरामी यसरी देखिएको थिएन तर यो वर्ष ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउँदै आएको छ।

डेंगुसँगै यो वर्ष हैजाका विरामी पनि देखा परेका छन्। विगतका वर्षमा हैजा संक्रमण देखिएका ठाउँमा डेंगु संक्रमण कम हुने भए पनि यो वर्ष काठमाडौं उपत्यकामा हैजा र डेंगु सँगसँगै देखिन थालेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*