बागमती प्रदेश युवा परिषद्ले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनायो

बकैया दर्पण संवाददाता
२८ श्रावण २०८१, सोमबार २१:०७

हेटौंडा । बागमती प्रदेश युवा परिषद्ले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा युवा विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री महर्जनले युवालाई विदेश पलायन रोक्न स्वदेशमै युवा स्वरोजगार श्रृजना गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याएर युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहने समेत उहाँले बताउनुभयो । राज्यले युवाको महत्व नबुझ्दा युवा जनशक्ति बिदेशिन बाध्य भएको मन्त्री महर्जनको धारणा थियो । उहाँले जुनसुकै क्षेत्रमा युवा सहभागिता अनिवार्य गरिनुपर्ने बताउनुभयो । युवा खेलकुद जस्तो क्षेत्रमा कम बजेट विनियोजन भएकोप्रति मन्त्री महर्जनले दुःख व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले हरेका क्षेत्रमा युवा साझेदारी निश्चित गर्नका निमित्त प्रदेश युवा परिषदले युवा लक्षित कार्यक्रम गर्दै आएकोे बताउनुभयो । परिषद्ले राज्य र युवालाई जोड्ने पुलको काम गरिरहेको उहाँको भनाई थियो । कार्यकारी उपाध्यक्ष चौलागाईले नेपालमा २०७२ सालमा युवा नीति बनेदेखि महान चाडको रुपमा युवा पुस्ताले यो दिवस मनाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत भानु थपलियाले डिजिटिलाइजेशनको बारेमा प्रस्तुती दिनुभएको थियो । यस वर्षको युवा दिवसको नारा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*