गोरखा पहिरो : बेपत्ता पाँचमध्ये चारजनाको शव फेला

बकैया दर्पण संवाददाता
१४ श्रावण २०८१, सोमबार १७:२३

बकैया दर्पण : लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर आइतबारदेखि बेपत्ता भएका पाँचमध्ये चारजनाको शव फेला परेको छ।

आइतबार बिहान करिब ३ बजे गोरखाको धार्चे गाउँपालिका– ५ रेशास्थित जितबहादुर गुरुङले सञ्चालन गरेको फार्म र घरमाथिको नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले फार्म र घर बगाउँदा फार्म सञ्चालक गुरुङसँगै उनका परिवारका तीन र अन्य चारजना पुरिएका थिए।

पुरिएकामध्ये दुईजनाको आइतबार नै उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको थियो। उनीहरूसँगै पुरिएर बेपत्ता भएका अन्य पाँचजनामध्ये चारजनाको शव सोमबार फेला परेको हो।

फार्मका सञ्चालक धार्चे– ५ रेशाका ३७ वर्षीय जितबहादुर, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, उनका बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ र फार्ममा काम गर्ने सिम्ला बस्ने ३३ वर्षका रमेश गुरुङलाई सोमबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

उनीहरू चारमध्ये कान्छीको शव घटनास्थलभन्दा केही पर गण्डकी गाउँपालिका– ८ को बर्खेघाटस्थित त्रिशूली नदीको छेउमा फेला पारेको हो भने अन्य तीनजनाको शव घटनास्थलभन्दा करिब ३५ मिटर पर फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। फार्मका ट्याक्टर चालक गोरखा आरुघाट गाउँपालिका आरूपोखरी घर भएका २४ वर्षीय रमेश परियारको अवस्था भने पत्ता लाग्न नसकेको रेग्मीले बताए।

यसअघि आइतबार नै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएकाहरूको खोजीमा खटिएको टोलीले दिलीप गुरुङ र २७ वर्षका खमबहादुर गुरुङलाई घाइते अवस्थामा उद्धार गरेको थियो। खमबहादुरको अवस्था सामान्य रहे पनि दिलीपको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको काठमाडौंस्थित टिचिङ अस्पताल उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार फर्म र घरभन्दा करिब चार सय मिटर माथिबाट पहिरो आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*