मकवानपुर गोल्ड कपको उपाधि एपीएफलाई

बकैया दर्पण संवाददाता
२७ माघ २०८०, शनिबार २०:२४

छैटौँ संस्करणको मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

 

हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा शनिवार भएको फाइनलमा न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित समय गोलरहित र टाई ब्रेकरमा ३–३ गोलको बराबरी भएपछि सडनडेथमार्फत् खेलको निर्णय लिइएको हो ।

सडन डेथको दोस्रो पेनाल्टीमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरेसँगै स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको हो । एपीएफ र एनआरटी प्रतियोगिताको फाइनलमा पुगेको पहिलो पटक हो ।

एपिएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्‍यो । एपीएफका फरवार्ड अनिष महर्जनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै उनले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् ।

करिब ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल प्राप्त गरेसँगै उनी खुशीले गदगद भएका थिए । केही महिना अगाडिदेखि मात्रै एपीएफमा अनुबन्धित भएका उनले प्रतियोगितामा दुई गोल गरेका थिए । उनी हेटौंडाकै हुन् । पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सर्वोत्कृष्ट खेलाडीका लागि प्रायोजन गरेको थियो ।

आयोजकले वर्षेनी सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*