मुख्यमन्त्रीसँगै तीन मन्त्रीले गरे सम्पत्ति विवरण सार्वजनिक

बकैया दर्पण संवाददाता
५ माघ २०८०, शुक्रबार ०७:१८

बकैया दर्पण। संघीय सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पति सार्वजनिक गर्न आनाकानी गरिरहेको बेलामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीहरूले भने आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर संघीय सरकारलाई पाठ सिकाएका छन्।

मुख्यमन्त्रीमा नियुक्ति भएको ९६ दिनमा मुख्यमन्त्री कार्कीले आफूसहित मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुको सम्पत्ति विवरणमा सार्वजनिक गर्नुभएको हो।

बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री केदार कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धूर जग्गा छ भने बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन्।

उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार रुपियाँ बराबरको रहेको उल्लेख छ। मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बुढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गर्नुभएको छ।

उहाँले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गर्नुभएको छ । कार्कीले आफ्नो नाममा बुढीगंगा-२ ‘क’मा पौने ९ धुर, बुढीगंगा-२ ‘क’मै सवा ११ धुर र बुढीगंगा-८ ‘ख’मा ३ कट्ठा जग्गा रहेको र ती सबै जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गर्नुभएको छ।

उहाँकी पत्नीको नाममा विराटनगरका ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ। विराटनगरभित्र कित्तानम्बर ४० को २५० वर्गमिटर, कित्तानम्बर ३० को ८८६ दशमलव २५ र कित्ता नम्बर २४ को ४२६ दशमलव २५ वर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*