हेटौँडामा राजमार्ग विस्तार : चार सय घर भत्काउनुपर्ने

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १०:४२

मकवानपुर । महेन्द्र राजमार्ग विस्तारका क्रममा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमाभित्रका घर, टहरालगायतका संरचना हटाउन सूचना जारी गरेको सडक डिभिजन हेटौँडासँग सडक विस्तारका क्रममा हटाउनुपर्ने घर, टहरालगायतका संरचनाको विवरणसमेत नभएको पाइएको छ।

बजार क्षेत्रका घरजग्गा धनीलाई यसअघि नै मुआब्जा र क्षतिपूर्ति दिएको दाबी गर्ने सडक डिभिजन कार्यालयसँग घरजग्गा धनीलाई मुआब्जा र क्षतिपूर्ति दिएको निस्सा र अभिलेख नै छैन।

सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख राजेश यादव रातोमाटेदेखि राप्ती पुलसम्म भत्काउनुपर्ने घर, टहरा चार सय रहेको अनुमान गरिएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “हामीले विवरण त सङ्कलन गरेका होइनौँ, अदालतमा परेको ३४० वटा घरको मुद्दा फस्र्योट भएर आएको छ र थप ४० घर पर्छ भन्ने हाम्रो अनुमान हो।” घरजग्गाको क्षतिपूर्ति र मुआब्जा माग गर्दै आएको बसोबास संरक्षण सरोकार समितिले करिब आठ सय घर पर्ने जनाएको छ।

सर्वोच्च अदालतले २०७८ साल मङ्सिरमा गरेको फैसलामा सडकको केन्द्र रेखाको दायाँबायाँ ७५ फिटभित्र पर्ने घरजग्गाका हकमा कानुनबमोजिमको प्रक्रिया पूरा गरी प्राप्त गर्न र क्षतिपूर्ति प्रदान गर्ने कार्य गर्न सरकारलाई आदेश दिएको छ। यस्तै अदालतले ७५ फिटभित्र निर्मित घरका हकमा नक्सा पास गर्दा के सर्तमा पास भएको रहेछ, सो कुरासमेतलाई हेरी घर नै भत्काउनुपर्ने अवस्थामा मानवीय दृष्टिबाट उचित रकमसमेत थप प्रदान गरेर मात्र भत्काउने कार्य गर्न फैसला गरेको छ।

सडक डिभिजन प्रमुख यादवले कार्यालयले घर/टहरालगायतका संरचना हटाउन दिएको म्याद साउन १५ मा सकिने र अदालतमा फर्स्योेट भएर आएका ३४० घरका हकमा साउन १६ र १७ गतेबाट भत्काउन थाल्ने जानकारी दिनुभयो। उहाँले गत पुसमा एसियाली विकास बैङ्कका प्रतिनिधिसहित सडक सीमाभित्र पर्ने घरटहराको रेखाङ्कन गर्न छलफल भएको बताउँदै रेखाङ्कन गर्न तयारी गर्दा डर, धम्की र त्रास सिर्जना गरेका कारण रेखाङ्कन कार्य अगाडि बढाउन नसकेको बताउनुभयो। “अदालतको आदेश अनुसार के कति भत्काउने हो, रेखाङ्कन गर्नुपर्ने हो गर्न सकेनौँ , घर/टहरालगायतका संरचना भत्काउँदै जाने हो र नाप्दै पनि जाने हो,” उहाँले भन्नुभयो।

बसोबास संरक्षण सरोकार समितिका अध्यक्षसमेत रहेका मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले सडक कार्यालयले सडक सीमाको रेखाङ्कन गर्ने बैठकमा आफूहरूलाई नबोलाएको र छलफल नै नभएको बताउनुभयो। प्रभावित एवं उद्योग वाणिज्य सङ्घ मकवानपुरका पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल अदालतको आदेश अक्षरशः पालना गर्न घरजग्गा धनी तयार रहेको र राज्य पक्ष पनि तयार हुनुपर्ने बताउनुहुन्छ। उहाँले भन्नुभयो, “सार्वजनिक सडक ऐनमा अधिग्रहण गरेर मात्र जग्गा लिनुपर्ने भन्ने व्यवस्था छ। त्यो प्रक्रिया नारायणगढदेखि राप्ती पुलसम्ममा अपनाइएको छ। हाम्रोमा मुआब्जा लिएको भन्ने भ्रम फैलाइएको छ, हामी वा हामीले जग्गा किनेको व्यक्तिले समेत मुआब्जा र क्षतिपूर्ति लिएको निस्सा वा प्रमाण देखाओस्, हामी छाड्न तयार छौँ।”

दोहोरो मापदण्ड

राजमार्ग एउटै भए पनि सडक डिभिजन हेटौँडाले सडक विस्तारमा दोहोरो मापदण्ड अपनाएको छ। सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्ग अन्तर्गत नै सडक विस्तारमा मकवानपुर जिल्लामा स्थानीय तहपिच्छे फरक मापदण्डको सूचना जारी गरी एउटै राजमार्गमा दोहोरो मापदण्ड अपनाएको हो।

हेटौँडा उपमहानगरको वडा नं. १, २, ४, ८, ९, १० र १५ मा एउटा मापदण्ड र मनहरी गाउँपालिकामा अर्को मापदण्डसहितको सूचना सडक डिभिजनले जारी गरेको छ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेदेखि राप्ती पुलसम्मको सडक सीमा केन्द्रबाट २५/२५ गज कायम भएको भन्दै सूचना जारी गरेको सडक डिभिजनले मनहरी गाउँपालिकामा पुग्दा सडक केन्द्रबाट दायाँबायाँ २५/२५ मिटरभित्रको रुख तथा अन्य घरटहरा हटाउन सहयोगका लागि वडा कार्यालयलाई पत्राचार गरेको छ। (गोरखापत्रबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*