नयाँ सरकार गठनको विकल्प साँघुरिंदै कोशीमा

बकैया दर्पण संवाददाता
१५ श्रावण २०८०, सोमबार १०:२८

मकवानपुर । कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पुर्‍याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको बुझिएको छ ।

आइतबार साँझ कोशी प्रदेशका सत्ता गठबन्धनका संसदीय दलका नेताहरुसँगको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपालाई मनाउन नसकिएको जानकारी दिनुभएको थियो । प्रधानमन्त्री दाहालले नयाँ विकल्पमा जानुपर्ने भन्दै कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई राजीनामा दिएर गाँठो फुकाउन आग्रह गर्नुभएको बुझिएको छ ।

तर, सभामुख गौतम भने मूख्यमन्त्रीको टुंगो नलागी पदत्याग नगर्ने अडानमा रहेको बुझिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले आइतबार दिनभर राप्रपालाई सत्ता साझेदारीका लागि प्रयास गरेका थिए । कोशीमा आलोपालो मूख्यमन्त्री र केन्द्रमा समेत मन्त्री दिने प्रस्ताव गर्दा पनि राप्रपाले नमानेको जानकारी प्रधानमन्त्री दाहालले गठबन्धनका नेताहरुलाई गराएको बुझिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार सम्ममा प्रदेश सरकार गठन भईसक्नु पर्दछ । सोही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको बहुमत देखाउनु पर्दछ । सत्ता गठबन्धनसँग अहिले सभामुख गौतम बाहेक ४६ सिट मात्रै रहेको छ । सर्वोच्चको आदेश अनुसार निर्धारित मितिमा बहुमतको सरकार नबने ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउन पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*