२० अर्बभन्दा बढी अतिरिक्त खर्च सरकारी भुक्तानी रोकिएपछिको ४ दिनसम्ममा

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १३:२८

मकवानपुर । चालू आर्थिक वर्षको सरकारी भुक्तानी बन्द भएको चौथो दिनसम्म २० अर्ब ५ करोड ९८ लाख रूपैयाँ भुक्तानी भएको पाइएको छ ।

असार २४ गते राति १२ बजेबाट लागू हुनेगरी सबै खाले भुक्तानी रोकिएको सूचना सरकारको आयव्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयले जारी गरेको थियो । तर, त्यसयता २० अर्बभन्दा बढी रकम भुक्तानी भएको देखिन्छ । यसमा साढे ६ अर्ब जति पूँजीगत शीर्षकको भुक्तानी भएको छ ।

असार २५ गते १३ खर्ब ७६ अर्ब ५३ करोड रूपैयाँ बजेट खर्च भएकोमा २८ गतेसम्म आइपुग्दा २० अर्बले बढेर १३ खर्ब ९६ अर्ब ५९ करोड रूपैयाँ बजेट खर्च भएको छ । महालेखाका सूचना अधिकारी गायत्रीरमण खनालले अत्यावश्यक अवस्थाको भुक्तानी गरिएको बताए । प्रदेश र स्थानीय तहको भुक्तानी रोकिएपनि संघको भने अत्यावश्यक खालको भुक्तानी दिन सकिने प्रावधान भएकाले कुनै निकायबाट अत्यावश्यक लेखी पठाएको रकम भुक्तानी भएको उनले बताए ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष अन्त्य हुनुभन्दा कम्तीमा एक साताअघिसम्म मात्र खर्च गर्ने व्यवस्था गरेको छ । सोही अनुसार गत आइतबार राति १२ बजेबाटै चालू आर्थिक वर्षको सबै खाले सरकारी भुक्तानी रोकिएको हो । अब यो आर्थिक वर्ष सकिन ३ दिन बाँकी छ ।

हालसम्म चालू खर्च १० खर्ब ५ अर्ब ३९ करोड रूपैयाँ भएको छ भने पूँजीगत खर्च २ खर्ब १७ अर्ब ३० करोड भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*