सवारी दुर्घटना हुँदा मकवानपुरमा तीन जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२३ असार २०८०, शनिबार १२:२८

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्ति डिपाट गाउँस्थित आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहान १ः४५ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं. को ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको ना ६ ख ६३१ नं. को ट्रक आपसमा ठोक्किए आगलागी हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा ना ६ ख ६६६७ नं. को ट्रक चालक चितवनको राप्ति नगरपालिका– ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका–२, गोर्दीटार बस्ने अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नं. को ट्रक सहचालक मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने अन्दाजी २० वर्षीय अमृत प्रजा रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, उनीहरुको शव सवारीसाधनले च्यापिएको अवस्थामा फेला परेको हो ।

यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ६६६७ नं. को ट्रकमा सवार चितवनको राप्ति नगरपालिका–३, बस्ने अन्दाजी ३५ वर्षीय बिबेक तामाङ र ६३१ नं. को ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा रहेका छन् ।

उनीहरुलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त स्थानमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आज बिहान ७ बजे पूर्ण रुपमा नियन्त्रणमा लिई दुबै तर्फको यातायात सुचारु गरिएको जनाइएको छ ।

मृतक तीनै जनाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*