राष्ट्रिय योजना आयोगले पूर्णता पायो

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०८०, सोमबार ०७:००

मकवानपुर । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आज आइतवार राष्ट्रिय योजना आयोगकी नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठसमक्ष शपथ लिनुभएकाे हाे । सदस्यको रूपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । आयोगका प्रवक्ता एवम् सदस्य डा. रामकुमार फुयालले सदस्य ढुङ्गानाले शपथ लिएसँगै कार्यभारसमेत समाल्नुभएको बताउनुभयो । उहाँले आयोग गठन आदेशमा उपाध्यक्षसहित सात जना पदाधिकारी रहने व्यवस्था रहेको बताउनुभयो ।

प्रवक्ता फुयालले नवनियुक्त सदस्य ढुंगानाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिलाका साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरूलाई आयोगले सहयोग गर्ने तथा भएका योजनाहरूको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने विषयमा आयोग लाग्ने बताउनुभयो ।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पदबहाली गर्नुभएकाे थियाे । आयोगको सदस्यहरू डा. रामकुमार फुयाल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, र डा. रमेश पौडेल यसअघि नै नियुक्त भइसकेका थिए । आयोगले सदस्यहरूलाई विभिन्न जिम्मेवारीसमेत दिएको छ ।

डा. फुयाललाई उद्योग वाणिज्य तथा आपूर्ति, पर्यटन श्रम तथा रोजगार, तथ्याङ्कका साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिँदा डा. राउतलाई कृषि, भूमि सहकारी र खानेपानीको जिम्मा दिइएको छ । यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारीका साथै बाग्मती प्रदेशकाे जिम्मेवारी दिइएकाे छ । डा. बिच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासनका साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुदका साथै बाग्मती प्रदेशको जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*