बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०९:२९

मकवानपुर । बाग्मती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार गाई सङ्क्रमित भएका छन् । पहिलो चरणको तथ्याङ्क अनुसार सङ्क्रामक रोग लम्पी स्किनबाट १८ हजार ३ सय २४ गाईमा सङ्क्रमण भएको पाइएको छ । यो रोग बाग्मतीसहित ७ वटै प्रदेशका गरी ३५ भन्दा धेरै जिल्लामा फैलिएको छ ।

लम्पी स्किन रोगबाट सङ्क्रमित केही गाईगोरु मरेका छन् । बाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार मकवानपुरमा यो रोग ४ हजार ८ सय ३५ वटा गाईमा देखिएको छ र भने १ सय ९७ गाई मरेका छन् ।

त्यस्तै, सिन्धुलीमा ९ हजार ६ सय ३४ गाईगाेरुमा सङ्क्रमण भएकाे छ भने र ४७ वटा मरेका छन् । रामेछापमा १ हजार ९ सय ६५, चितवनमा १ हजार ६० वटा गाईमा रोगको सङ्क्रमण देखिएको छ । अहिलेसम्म गाईगोरुमा मात्र सङ्क्रमण भएको र भैँसीमा सङ्क्रमण नदेखिएको सचिव पाण्डेले बताउनुभयो ।

काठमाण्डौमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४ सय, नुवाकोटमा ३ सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने गरेको छ ।

रोगग्रस्त क्षेत्रमा निःसङ्क्रमण, उपचारलगायतका कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले देशभर फैलिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनालका अनुसार लम्पी स्किन रोग लागेका गाई/भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ ।

रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वरेन्टिनमा राखेर उपचार गर्न पशु सेवा विभागका उपमहानिर्देशक एवम् पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका प्रमुख डा.वरुणकुमार शर्माको सुझाव छ ।

भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*