आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

बकैया दर्पण संवाददाता
७ कार्तिक २०७९, सोमबार ०८:०७

मकवानपुर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो ।

कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । यस दिन बिहान नदी तथा तलाउमा गई स्नान गर्ने र घर आगन सरसफाई गरी नरक फाल्ने गरिन्छ । त्यसपछि घर घरमा कुकुरको पूजा गरिन्छ भने कुकुरलाई मिठा मिठा खान दिने चलन छ । यसो गर्दा मृत्युपछि यमलोक जाँदा यमराजको द्वारपालको रुपमा रहने श्याम र सबल नामकका कुकुरले बाटो छाडिदिने शास्त्रीय ब्याख्या रहेको छ ।

वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुरले धर्मराज युथिष्ठिरलार्य स्वर्ग जाँदा समेत साथ दिएको पनि शास्त्रीय कथन रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो जनावरको रुपमा लिने गरिन्छ ।

यस पटक आजै साँझ घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा पनि गर्नुपर्ने नेपाल पंचाङ्ग निणार्यक विकास समितिले जनाएको छ । सामान्यतः औंसीको राति महालक्ष्मी पूजा गर्ने गरिन्छ । तर यो वर्ष आजै अपरान्हपछि औंसी सुरू हुने र रातभर औंसी पनि आजै रहने भएकाले आज साँझ नै लक्ष्मीपूजा गर्नुपर्ने विज्ञहरुको सुझाव छ । भोलि सूर्य ग्रहण समेत रहेको र भोलि अपरान्हपछि औंसी तिथि सकिने भएकाले आज नै महालक्ष्मी पूजा गर्नु उत्तम हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*