नेपाल प्रहरीको भूमिका महत्त्वपूर्णः मुख्यमन्त्री लामा

बकैया दर्पण संवाददाता
३० आश्विन २०८१, बुधबार १२:०२

बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने गरेको बताउनुभएको छ । ६९ औँ प्रहरी दिवस–२०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अग्रपङ्तिमा रहेर नेपाल प्रहरीले नागरिकको सुरक्षा गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल प्रहरीको स्थापनाकालदेखि नै राष्ट्र र जनताका लागि हरेक तवरबाट खट्दै आएको गौरवमय इतिहास रहेको स्मरण गर्दै देशको शान्ति सुरक्षा र अमनचैन कायम गर्ने जिम्मेवारी पनि पूरा गरिरहेको बताउनुभयो ।

विपदबाट उद्धार, लागूपदार्थ रोकथाम र अपराध अनुसन्धानका लागि नेपाल प्रहरी निरन्तर खट्दै आएको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले देशमा भएको राजनीतिक परिवर्तन, शान्ति सुरक्षा कायम गर्ने र २०७२ सालको विकाशकारी महाभूकम्पमा समेत निर्वाह गरेको भूमिका सम्मानयोग्य रहेको बताउनुभयो ।

प्रसङ्ग जोड्दै बाढी पहिरोका कारण बागमती प्रदेशमा आएको विपदका समयमा नेपाल प्रहरीले जनताको उद्धारका लागि घटनास्थलमा पुगेर जनताका लागि पुर्‍याएको सहायताप्रति पनि धन्यवाद दिनुभयो ।

प्रहरीका कारण नै आम नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सकेको बताउँदै चाडपर्वमा कार्यस्थलमै खटिने प्रहरीको जति प्रशंसा गरे पनि कम हुने उहाँले तर्क गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*