आज बडादशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बकैया दर्पण संवाददाता
१२ आश्विन २०७९, बुधबार ०७:३४

मकवानपुर । आज बडादशैँ अर्थात नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ ।

बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि ९ दिनसम्म दुर्गा भवानीका विभिन्न ९ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । चन्द्रघण्टादेवीको रूप स्वर्णमय, शान्त र सौम्य भएको हिन्दू धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।

शिरमा घण्टा आकारको चन्द्रमा भएकाले ती देवीको नाम चन्द्रघण्टा रहन पुगेको धार्मिक मान्यता छ । सिंहमाथि बसेकी चन्द्रघण्टा देवीको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुष लगायत शस्त्र अस्त्र छन् ।

बडादशैँमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । बडादशैँ प्रारम्भ भएसँगै विधिपूर्वक दुर्गा भवानीको विभिन्न स्वरूपको पूजा गरेमा आफ्नो मनोकांक्षा पूरा हुने मान्यता छ ।

दुःख कष्टबाट मोक्ष पाउनका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर देवी चन्द्रघण्टाको पूजा गरेमा उनी खुशी भई आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत, प्रेत र विभिन्न बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य डराउँछन् भन्ने धार्मिक विश्वास रहेको छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं पाठ गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै लगाउने गरिन्छ ।

बडादशैँको तेस्रो दिन देशैभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । काठमाडौं उपत्यका भित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ ।

त्यसैगरी काठमाडौं बाहिर पोखराको बिन्धवासिनी, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता लगायतका देवीका शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*