देशैभरका माध्यमिक बिद्यालयका शिक्षकद्वारा पेन डाउन

बकैया दर्पण संवाददाता
३० भाद्र २०७९, बिहीबार १२:४१

मकवानपुर । बिभिन्न माग राखेर आनदोलनमा उत्रिएका माध्यमिक विद्यालयका शिक्षकहरुले बिहिबार पेन डाउन (कलम बन्द) गरेका छन् ।

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले यही भदौ २६ गतेदेखि बिभिन्न १६ बुँदे माग राखेर आन्दोलन शुरु गरेको थियो ।आन्दोलन स्वरुप देशैभरका हिस्टुनमा आवद्ध शिक्षकहरुले बिहिबार पेन डाउन गरेका हुन् । सरकारले हिस्टुनले राखेका मागबारे आश्वाशन मात्रै दिने गरेको तर माग पूरा गर्ने तर्फ गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको हिस्टुनका पूर्व अध्यक्ष पुष्प न्यौपानेले ईमेजखबरसँग बताउनु भयो ।

दरबन्दी र अनुदानमा कार्यरत शिक्षकहरुलाई सरकारले निकासा गरेको पूरै रकम नदिएर कतिपय विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कम रकम दिने गरेका भन्दै त्यस्तालाई कारबाही गरेर शिक्षकले पूरा रकम पाउनुपर्ने व्यवस्था गर्न हिस्टुनले सरकारसँग माग गरेको छ ।

त्यसैगरी सामुदायिक उच्च माध्यमिक तहमा कार्यरत विद्यालय कर्मचारीलाई आन्तरिक प्रकृयाबाट स्थायी गर्न, निवृत्तिभरण वा उपदान प्रयोजनका लागि समेत विद्यालयको अभिलेख अनुसार समय गणना गर्न तथा निजामती कर्मचारी, सेना र प्रहरीको जस्तै गरी शिक्षकहरुको पनि स्वास्थ्य बीमा गर्नु पर्ने माग पनि हिस्टुनले अघि सारेको छ ।

उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्नु पर्ने,देशको शैक्षिक संरचनालाई अन्तर्राष्ट्रिय परिवेश अनुकुल बनाउनुपर्ने, शिक्षक दरबन्दी र व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्ने लगायतका माग आफूहरुले राखेको हिस्टुनका अध्यक्ष दीपकराज सुवेदीले बताउनुभयो ।

नेपालको संविधान २०७२ बमोजिम माध्यमिक विद्यालयसम्मको शिक्षा निःशुल्क भनिएपनि साविक उच्च माध्यमिक विद्यालयहरुले विद्यार्थीबाट चर्काे शुल्क उठाउने गरेका र आन्तरिक स्रोतबाट तलब खाने शिक्षकलाई भने कम तलब दिने जस्ता कार्य बन्द गर्नुपर्ने माग पनि हिस्टुनको छ । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*