रुसले अपहरण गरेको युक्रेनी नागरिकको डरलाग्दो कथा

बकैया दर्पण संवाददाता
२१ बैशाख २०७९, बुधबार १३:२१

एजेन्सी । निकिता होर्बान अस्पतालको एउटा पुरानो स्टिल बेडको भित्तामा आड लिएर बसेका छन्। उनी कुनै समय आफ्नो औँला रहेको खुट्टामा व्याण्डेज बेरेर बसिरहेका छन्। उनले अहिलेसम्म त्यही कपडा लगाएका छन्, जतिबेला उनलाई रुसी सेनाले जेलमा लगाइदिएको थियो।

हरियो रंगको टिसर्ट र ट्र्याक सुट। उनको अनुहार पहेंलिएको छ र उनी ३१ वर्षभन्दा धेरै उमेरका देखिएका छन्। आँखा झुकाएर उनले भने, ‘मेरो वजन एकदमै कम भएको छ, म अब पहिलाजस्तो देखिन्नँ।’

उनी आफ्नै खुट्टामा उभिन थालेको २ साता भयो। उनलाई आफ्नो खुट्टामा दुखाइ नहोस् भन्नकाे लागि बारम्बार खुट्टा हल्लाइरहन पर्छ।

त्यो दिन युक्रेनको जैपोरिन्जियामा वसन्त ऋतुको चम्किलो दिन थियो, तर रुसले त्यो ठाउँमा बमबारी गर्न थालेको थियो। अस्पतालको झ्यालबाट कालो धुँवा बाहिर निस्किएको देखिन्थ्यो। अस्पतालको वार्डको हावा तातो भएको थियो।

निकितालाई तीन दिन अगाडिमात्र कैदी अदलीबदलीमा युक्रेनमा सुम्पिएको थियो। उनलाई एक व्यक्तिसँगै अस्पतालमा लगिएको थियो।

रुसको उनले जेलमा ३ कठोर सप्ताह बिताएका छन्। दोस्रो व्यक्ति २८ वर्षका सेरही वासिलहा थिए, जब उनलाई युक्रेनलाई सुम्पिएको थियो, उनको दुवै खुट्टा काटिएको थियो। निकिताले भने, ‘उनी म जति भाग्यवानी छैनन्।’

कैदी अदलीबदलीको काम हेरिरहेकी युक्रेनी डिपुटी प्रधानमन्त्री इराइना वेरेशचुकले यो अदलीबदलीमा कयौँ गंभीर रूपमा घायल व्यक्ति समावेश रहेको, केहीको हात खुट्टा काटिएको, केहीलाई गम्भीर संक्रमण भएको र स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गरेकी थिइन्। उनले भनिन्, ‘यो शारिरीक यातनाको स्पष्ट प्रमाण थियो, उनीहरूले डरलाग्ने कहानी सुनाए।’

निकिताको नराम्रो समय मार्चको सुरुवाती दिनबाट भयो, जब रुसका सेनाले युक्रेनको राजधानी किएभको पश्चिममा रहेको गाउँमा प्रवेश गर्‍याे। किएभको अस्पतालमा ल्याब असिस्टेन्टको काम गर्ने निकिता आफ्ना पिता शाशासँग बगैँचाभन्दा तल अँध्यारो भण्डारमा लुकेर बसेका थिए। उनीसँग पत्नी र ५ वर्षका छोरा पनि साथ थिए।

शाशा निकिताको सौतेनी पिता भए पनि सम्बन्ध राम्रो थियो।

रुसी सेनाले गरेको खानतलासीमा शाशा र निकिता समातिए। त्यो दिन धेरै गोलाबारी भइरहेको थियो र गाउँका धेरै मानिस मारिइरहेका थिए। निकिता र शाशालाई आँखामा पट्टी लगाएर खेतजस्तो ठाउँमा लगिँदै थियो। त्यहाँ उनीहरूलाई धेरै यातना दिइयो। त्यो निशान निकिताको खुट्टामा बाँधिएको पट्टीले प्रमाणित गर्छ।

रुसी सैनिकले शरीरबाट रगत बगुञ्जेलसम्म पिटिरहेको उनी सुनाउँछन्। आँखामा पट्टी लगाएको कारण त्यहाँ कति मानिस थिए निकिताले थाहा पाएनन्, उनले मात्र आसपासमा रहेका मानिसको चिच्याहट सुने।

‘म मेरो पिता मसँग होलान् कि नहोलान् भन्ने मात्रै सोचिरहेको थिएँ’, उनले भने।

रुसी सैनिकले उनले लगाएको बुटमा पानी भरिदिए र बर्फिलो खेतमा घोप्टो पारेर सुताए।

‘हामी ३, ४ रातसम्म यसरी नै सुतिरह्यौँ, पानी परिरहेको थियो र चिसो बढिरहेको थियो’, उनले सुनाए।

आसपास रुसी मानिसको आवाज नआएपछि निकिताले आफ्ना पितालाई आवाज दिए, शाशाले तुरुन्त जवाफ फर्काए। दुवै साथ थिए। त्यसपछि सुरक्षित लागेको समयमा यी दुई एक अर्कालाई भरोसा दिलाउन बोलचाल गर्न थाले।

जब उनीहरूलाई मैदानमा सुताइयाे, तब निकिताको खुट्टा चिसोले खायो। त्यसको केही समयपछि उनले आफ्नो खुट्टालाई महसुस नै गर्न पाएनन्। त्यसपछि उनको आसपास बमबारी हुन थाल्यो र जमिन बिस्फोटले हल्लिन थाल्यो। निकिताले भने, ‘हामीले धेरैपल्ट ज्यानकाे माया मार्‍याैँ।’

त्यसको केही समयपछि उनीहरूलाई ट्रकमा राखियो र आँखामा पट्टी बाँधेर लगियो। निकितालाई कति समय बित्यो भनेर अन्दाज नै रहेन।

त्यसपछि उनलाई कैदीहरूको साथ मिलाएर हेलिकप्टरमा राखियो, उनलाई धेरै भोक लागेको थियो। बन्दी बनाएको यतिका दिनसम्म निकिताको पेटमा अहिलेसम्म एक कचौरा दाल, ब्रेडको एक टुक्रा र बिस्कुटमात्रै परेको थियो।

उनीहरूलाई हेलिकप्टरबाट उतारेर कार्गो प्लेनमा बसाइयो। निकितालाई विमानको इन्जिन चालु भएको थाहा भयो। उनले त्यहाँ १०-१२ जना भएको अनुमान लगाए। विमान इन्जिनको ठूलो आवाजमा निकिताले सोधे, ‘तपाईं ठीक हुनुहुन्छ ?’

शाशाले जवाफ फर्काए, ‘ठीक छु ।’

उता निकिता र शाशाकी पत्नी नादिया र स्वितलाना र निकिताका छोरा लुकेर बसेको भण्डारणबाट बाहिर निस्किई छिमेकीको घरमा आश्रय लिएर बसेका थिए। उनीहरूलाई श्रीमान कहाँ छन् थाहा थिएन। उनीहरूले आफन्तकोमा सोधे तर उनीहरू त्यहाँ नरहेको बताइयो। बाहिर खोज्न जाने अवस्था थिएन। एक महिना रुसको कब्जामा रहेको यो गाउँमा बमबारी रोकिनासाथ सैनिक घरभित्र पस्दै छापा मार्थे। आफ्नो ज्यानको सुरक्षा गर्न नसकिने समयमा परिवारलाई खोज्नु असम्भंव थियो।

आँखाबाट पट्टी खुलेपछि निकिताले आफ्नो खुट्टा हेर्न पाए, उनको औँला कालो भइसकेको थियो। उनको खुट्टालाई चिसोले खाएको थियो, यसको लागि चिकित्सकीय सहयोगको आवश्यकता थियो।

उनलाई त्यहाँको अस्पतालमा लगेर खुट्टा सुकाइयो र पट्टी बाँधियो। त्यति उपचारपछि उनलाई फेरि जुत्ता लगाउन भनियो। क्याम्पमा ५ दिन बसेपछि उनलाई रुसको कुर्स्क सहरको जेलमा लगियो।

नयाँ कैदीलाई पोशाक लगाइयो, कपाल काटियो र उनीहरूलाई खोप लगाइने बताइयो। खोपको अर्थ पिटाइ रहेको उनले पछिमात्रै थाहा पाए। निकिता र शाशालाई १० जनासँग एउटा कोठामा राखियो। निकितालाई अब कसैले आफूलाई बचाउन नसक्ने भन्ने लागेको थियो।

निकिता र शाशाकाे घर
निकिता भन्छन्, ‘पहिलाे रात मलाई मेरो खुट्टा लाटो भएको थाहा थियो, अब त्यहाँबाट गन्ध आउन थालेको थियो ।’

उनीजस्तै अरूको पनि उस्तै समस्या थियो, पछि कतिपयलाई आफ्नो खुट्टा काट्न पर्‍‍याे।

जेलमा उनीहरूलाई न्यूनतम स्वास्थ्य सेवा प्राप्त भइरहेको थियो, एन्टिबायोटिककाे साथसाथै ३ दिनमा पट्टी परिवर्तन गरिन्थ्यो। निकितालाई जेलका चिकित्सकले राम्रो ओषधि भए पनि उनीहरूलाई नदिएको बताएका थिए।

जेलभित्र कैदी आफ्नो परिवारको बारेमा कुराकानी गर्थे र चुट्किला सुनाएर मनोरञ्जन लिन्थे।

निकिता लगायतलाई जेलमा रुसको राष्ट्रगान, रुसी गीत र पुटिनको तारिफमा लेखिएको गीत स्मरण गरी सैनिकलाई सुनाउन लगाइन्थ्यो।

दिनमा ४ पल्ट सोधपुछ र पिटाइ हुन्थ्यो। त्यसपछि जेलमा राम्रो ख्याल गरिएको छ भन्ने पत्रमा हस्ताक्षर गर्न लगाइन्थ्यो। निकिताले आफू कुन ठाउँमा रहेको त्यही पत्रबाट थाहा पाएका हुन्।

जेलमा ३ साता बिताएपछि निकिताको खुट्टको हालत झनै नराम्रो भयो, उनलाई अन्य २ मानिसको साथ अस्पताल लगियो। त्यहाँ उनको औँला काट्न पर्‍याे। जाँचको समयमा उनको एउटा औँला आफै झरेको निकिता सम्झन्छन्।

शल्यक्रियापछि उनले एक साता अस्पतालमा बिताए। त्यसपछि उनले आफू लगायत केही बन्दीहरूलाई घर फर्काउन लागेको थाहा पाए।

युक्रेनका अनुसार रुसले आफ्ना बन्दी सैनिकको बदली गर्नको लागि युक्रेनी नागरिकलाई अपहरण गरेको थियो। अपहरण हुनेमा काउन्सिलका कर्मचारी र महिला अनि सर्वसाधारण नागरिक थिए।

बन्दी भएका १ हजारभन्दा धेरै बन्दीमा ५ सय महिला रहेका छन्।

निकिताले शाशालाई अन्तिमपल्ट कुर्स्ककाे जेलमा देखेका थिए, अस्पतालमा उपचारको लागि आएपछि उनले फेरि शाशालाई देख्न पाएनन्।

अस्पतालबाट निकितालाई कार्गो विमानमा राखेर क्रिमिया लगियो। रुसले आफूसँग एम्बुलेन्स नभएको भन्दै गम्भीर घाइतेलाई ट्रकमा कोचेर पाँच घण्टाको यात्रा गराई अदलीबदली गर्ने ठाउँमा लग्यो।

त्यसपछि रुसी सैनिकले घाइते मानिसलाई स्ट्रक्चरमा राखेर हाइवेमा सुताइदिए, युक्रेनका सैनिक आएर उनीहरूलाई उठाएर लगे।

निकितालाई आफू युक्रेन आइपुगेकोमा विश्वास नै भइरहेको थिएन। युक्रेनी सैनिकले युक्रेनी भाषामा उनलाई ‘स्वागत छ’ भनेपछि उनले विश्वास गरे।

‘म टुटिसकेको थिएँ तर मलाई थाहा थियो म आफ्नो देशमा छु’, उनले भने।

तर, उनलाई आफ्नो परिवार जिउँदो छन् कि छैनन् थाहा थिएन। युक्रेनमा पछिल्लो एक महिनामा के भयो भन्ने पनि उनलाई थाहा थिएन।

निकिताले एक सैनिकलाई आफ्नो श्रीमतीको नम्बर दिए, त्यतिबेला उनको मुटु धेरै धड्किएको थियो।

‘म मात्र घन्टी बज्ने प्रतिक्षामा थिए, घन्टी बज्यो, उताबाट फोन काटियो। मैले बुझेँ उनीहरू जिउँदै छन्’, निकिताले भने।

दोस्रोपल्ट नादियाले फोन उठाइन्। उनले छोरासहित बेल्जियम पुगेको र सुरक्षित रहेको बताइन्।

‘हामी ५ मिनेटसम्म फोनमा रोइरह्यौँ, कुरा गर्ने कोसिसमा त थियौँ तर बोली फुटिरहेको थिएन। मेरो आँखामा आँशु मात्र थियो, उसले हेलो भन्ने बित्तिकै मैले सास फेर्न सकिनँ’, उनले भने।

नादियाले शाशाको भाइ र उनको परिवारलाई निकिताको बारेमा खबर दिइन्। शाशा गायब नै थिए। पछिल्लो पल्ट निकिता शाशासँग छुट्टिँदा शाशा जिउँदै थिए, त्यसैले परिवार उनको पर्खाइमा रहिरहनेछ।

निकिता युक्रेन फर्किएसँगै आफूले काम गरेको अस्पतालमा पुग्ने कोसिसमा छन् । तर उनलाई समय रोकिएको जस्तो लागिरहेछ।

मंगलबार उनी लामो एम्बुलेन्स यात्रा गरी उनले काम गरेको अस्पताल पुगे। उनका सहयात्री उनको स्वागतमा बसिरहेका थिए। उनलाई उपचारको लागि एउटा कोठा दिइएको छ, जहाँबाट उनले सहर देख्न सक्छन्।

निकिताका २ सहकर्मीकाे परिवारसहित अस्पतालमा भएको बम बिस्फोटमा मृत्यु भएको छ।

निकितालाई अस्पतालमा फिर्ता ल्याउन पाउँदा अस्पताल पनि खुसी भएको छ। अस्पतालमा एक सर्जन भन्छन्, ‘हाम्रो लागि निकिता फिर्ता आउनु ठूलो कुरा हो, हामी उसको लागि गर्न सक्ने सबै गर्छौँ, उसलाई फेरि हिँड्न सिक्नु पर्नेछ।’

अस्पतालको मायाले उनलाई केही साहस आएको छ। चिकित्सक गएपछि उनले भने, ‘मेरो दिमागमा मात्र एउटै कुरा चलिरहेको छ- म मेरी श्रीमती र छोरा नजिक जान चाहन्छु।’

-जाेयल गुन्टर, युक्रेन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*