त्रिविले पुस्तकालयमा अध्ययन शुल्क तोक्यो, वर्षको ११ सय तिर्नुपर्ने

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १२:५५

मकवानपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन्। उनीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् ।

केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो। मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रूपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रूपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रूपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रूपैयाँ तिर्नुपर्नेछ। केन्द्रीय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ।

विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रूपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हितमा नभएको बताए ।

विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरूलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताए। उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताए ।

यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । उनले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रूपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए । रिजालले कतिपय विद्यार्थीहरू कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरूबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए ।

उनले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाइलो लागेको बताए। पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरूबीच द्वन्द्व, विवादहरू नियमन गर्न शुल्क तोके पनि आर्थिक रूपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने उनको माग छ ।

अर्का विद्यार्थी अशोक कार्कीले अन्य विकल्प नभएपछि शुल्क तिरेरै अध्ययन गर्न बाध्य भएको बताए। उनले शुल्क निर्धारण मापदण्ड वैज्ञानिक नभएको भन्दै शुल्क लिनु आपत्तिजनक रहेको बताए। कार्कीले आफू पुस्तकालयमा आउने नियमित विद्यार्थी भएको भन्दै शुल्क तोक्दा अहिले विद्यार्थी संख्या घटेको जानकारी दिए । जागिर खाइसकेका, लोकसेवा लगायतको परीक्षा दिनका लागि मात्रै एक महिना÷ डेढ महिना आउने गरेका विद्यार्थीले ६ महिनाको शुल्क तिर्नु वैज्ञानिक नभएको उनले बताए ।

त्रिवि भन्छः नियमन गर्न खोजेका हौँ

यता, त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापानिज भाषा पढ्नेहरूले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए । झोला राखेर विद्यार्थीहरू बाहिर जाने र केन्द्रीय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको उनको भनाइ छ । ओझाले भने,‘ केन्द्रीय पुस्तकालयको नियमित सुविधा लिन चाहने विश्वविद्यालयको विद्यार्थी नभएको मान्छेले कम्तीमा एउटा नियममा बसेर हामीले अपनत्व महसुस गराउन खोजेका हौं, त्यस्तो महँगो शुल्क होइन,एउटा रेकर्डको लागि पनि हो, पाँच÷सात सय रूपैयाँ महँगों नहोला ।’
केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिए । उनले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरूलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताए ।

उनले पुस्तकालयमा विद्यार्थीबीच द्वन्द्वर झैझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको बताए । सुवेदीले भने, ‘कुनै पनि पुस्तकालय त्यस्तो हुँदैन जहाँ सदस्य नभइकन त्यहाँका सामग्री प्रयोग गर्न पाइन्छ, हामीले यो भन्दा अगाडि विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा जो कोही व्यक्ति पनि जुनसुकै बेला यो पुस्तकालय खोलुन्जेलसम्म पुस्तकालयमा बसेर पढ्नुपर्ने व्यवस्था गरिएको रहेछ, अब त्यो हुँदा खेरी हाम्रो विश्वविद्यालयभित्र बसेर पढिरहेको छ भन्ने कुराको रेकर्डपनि हामीसँग भएन ।’

पुस्तकालयभित्र बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रेकर्ड विश्वविद्यालयसँग हुनुपर्छ, त्यसको लागि उनीहरूलाई सदस्यता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राखेर भदौ १ गतेदेखि त्रिवि केन्द्रीय पुस्तकालयभित्र लामो समयसम्म बसेर पढ्न खोज्ने विद्यार्थीको लागि अनिवार्य रूपमा सदस्य हुने व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा भर्ना हुने सबै विद्यार्थीहरू सदस्य हुन पाउँछन् र, उनीहरूसँग त्रिविको आइडेन्टी कार्ड हुन्छ। पुस्तकालय प्रयोग गर्न जुनसुकै देशमा सदस्यता कार्ड लिइन्छ । यो भन्दा अगाडि विद्यार्थीहरूले सित्तैमा भित्र छिरेर जुनसुकै बेला जसरी पनि बसेर पढ्न पाइने भइरहेको परिस्थितिमा सदस्य बनेर छिर्नुपर्दा अलिकति अफ्ठ्यारो भएको हुनसक्छ ।

‘यथार्थमा यो उहाँहरूलाई दुःख दिन खोजिएको होइन की त्यो चाहिँ एउटा नियम बसाउन खोजिएको हो,’उनले भने,‘यहाँ त विद्यार्थी आउने लाइन लागेर बस्ने र दुई थरी विद्यार्थी झगडा गर्ने, यहाँका भौतिक संरचनाहरूलाई पनि क्षति पुर्‍याउने, मेचमा बस्दाखेरी पनि म पहिले आएको त पछि आएको, यो मेरो ठाउँ यो मेरो ठाउँ भनेर एक किसिमको कन्फ्लीक्टको कुरापनि ल्याउन थाल्नुभयो, जसले गर्दा हामीलाई त एउटा नियमन त गर्नुपर्‍यो ।’

पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएको उनले बताए । ‘नियमन गर्नलाई पहिलो स्टेपको सदस्यताको कुरा हो, सदस्यता हामीले नियम बनाउनका लागि गरेका हौँ,त्रिवि केन्द्रीय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रूपमा सदस्य हुने व्यवस्था गरिएको हो,’उनले भने । (थाहाखबर)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*