देशभर ९२ प्रतिशत रोपाइँ

अघिल्लो वर्षको तुलनामा तराईमा ११ प्रतिशत कम
बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १०:३९

मकवानपुर । देशभर ९२ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गएको वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत कम धान रोपाइँ भएको हो । तर, अन्नको भण्डार मानिने मधेस प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष रोपाइँ ११ प्रतिशतले कम छ ।

कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार प्रदेशगत रुपमा कोशीमा ९७ प्रतिशत, मधेसमा ८२ प्रतिशत, बाग्मतीमा ९३ प्रतिशत, गण्डकीमा ९४ प्रतिशत, लुम्बिनीमा ९५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै ९९ प्रतिशत रोपाइँ भएको छ ।

गएको वर्ष साउन सकिँदा देशभर ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष मनसुनले साथ नदिएको र लम्पी स्किन रोगका कारण गोरु सङ्क्रमित हुँदा रोपाइँको काम प्रभावित भयो । धेरै धान उत्पादन हुने मधेस प्रदेशमा नै यसपालि सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।

गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो । अझै केही दिन रोपाइँ गर्न सकिने तर अब रोपिएको धानबाट उत्पादन कम हुने विज्ञले बताएका छन् । यसपालि धानको उत्पादन घट्ने अनुमान छ । नेपालले गर्दै आएको धानरचामलको आयात थप बढ्नेछ ।

धानबाली विज्ञ सुशील सुवेदी तराई मधेसका बाँझो रहेका जग्गामा अबका केही दिन रोपाइँ हुन सक्ने तर असार–साउनमा रोपेको धानले दिने जति उत्पादन नदिने बताउनुहुन्छ । बुढो भएको बिउबाट त्यति धेरै फल नलाग्ने उहाँको भनाइ छ । जग्गा बाँझो राख्नुभन्दा बिउको जोहो गर्न सके धान रोप्न र धानबाली नभए अरु दलहन, कोदोजन्य बाली तथा तरकारी खेती गर्न उहाँको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*