बन्दीपुर केबलकार असोजदेखि सञ्चालन

बकैया दर्पण संवाददाता
३२ श्रावण २०८०, बिहीबार १६:२७

मकवापुर । बन्दीपुर केबलकार एण्ड टुरिजमले यहाँ केबलकार निर्माण गरेको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो ।

एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ। केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए ।

केबलकारमा यात्रु बोक्ने एक्काइस डिब्बा छ, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ।
एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उनले बताए। “केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ”, निर्देशक पौडेलले भने।

पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई ५०, पत्रकारलाई तीन सय ५०, अन्य यात्रुका लागि पाँच सय, रेष्ट्रो क्याबिनको २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।

केबलकार र पाँचतारे होटल गरी कूल तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो। बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

मिति नतोकिए पनि दसैँ अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने जनाइएको छ । (थाहाखबर)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*