हेटौंडाबाट १० लाख माछाका भुरा भारत निर्यात

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १४:०१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका—५ पिप्लेस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गर्ने गरिएको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् ।

विकासे जातका माछाका १० लाखभन्दा बढी भुरा भारत निर्यात गरिएको मत्स्य प्रवर्द्धन केन्द्रले जनाएको छ । केन्द्रले चालु आर्थिक वर्षको असार १५ सम्म चार करोड ५० लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गरेको केन्द्रका प्रमुख सरोज यादवले बताए । किसानको मागअनुरूप विगतको तुलनामा माछाका भुरा उत्पादन र बिक्री बढ्दै गएको छ ।

विगतमा प्रत्येक वर्ष ३ करोडदेखि ३ करोड ३४ लाख माछाका भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यस वर्ष उत्पादन बढेको हो । पोखरीको मर्मतसम्भार गरेपछि यो सम्भव भएको कार्यालयले जनाएको छ । कार्यालय परिसरमा रहेको माछा फर्मबाट सात जातका विकासे माछाको मात्र प्रजनन तथा भुरा बिक्री गर्दै आएको कार्यालय अहिले दुई जातका स्थानीय तथा लोपोन्मुख सहर तथा गर्दीजातको रंगीन कोई कार्प माछा प्रजनन तथा बिक्रीवितरणको तयारीमा छ ।

रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्प गरी सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछापालक किसानलाई बिक्रीवितरण गरिएको छ । कार्यालयले चालु आर्थिक वर्षमा ३१ लाखभन्दा बढी रुपैयाँका भुरा बेचेको छ । हेटौंडा र चितवनसहित २२ जिल्लामा माछाका भुरा बिक्रीवितरण गरिएको कार्यालय प्रमुख यादवले जनाए ।

एकीकृत मत्स्य पालन प्रणालीअर्न्तगत बगुंर पालन पनि सुरु गरिएको छ । भौतिक संरचना सुधारका साथै आठवटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताए । मत्स्य संग्रहालयअर्न्तगत संरक्षित माछाको नमुना तथा लिभफिस म्युजियम स्थापना तथा सञ्चालन प्रक्रिया अगाडि बढाइएको पनि कार्यालयले जनाएको छ ।

०७५/७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानका क्रममा राप्ती नदी, वाग्मती, सामरी, बकैया, अरुण, कोशी, कर्णाली नदी र बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ । यसबाट ४५ प्रजातिका माछा नमुना संकलन गरिनुका साथै पानीको गुणस्तरसमेत परीक्षण गरिएको कार्यालयले जनाएको छ । (कान्तिपुर दैनिकबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*