ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि पास हुने बढे साथै बिचौलियाहरु घटे

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १३:२५

मकवानपुर । बागमती प्रदेशमा ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि पास हुने बढेका छन् । पास हुने बढेसंगै फेल भएकाहरुलाई पैसा लिएर पास गराउनेहरुको संख्या भने घट्दै गएको छ । जिल्ला जिल्लामा ट्रायल सेन्टर खुल्नु र सवारी साधनको ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि बिचौलियाहरुको सख्या भने हेटौंडा, काठमाण्डौं लगायतका क्षेत्रमा घट्न थालेको छ ।

बिशेषगरी चितवनमा ट्रायल सेन्टर खुलेपछी हेटौंडामा सवारीका साधनमा लाइसेन्स बनाउनेहरु निकै घटेको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका कर्मचारीहरु बताउँछन् । अझै पनि यातायात व्यावस्था कार्यालयहरुबाट सवारी लाइसेन्स लिनका लागि दिइने लिखित परिक्षाको टिक मार्कमा भने परिक्षार्थीले केहीमा मात्र टिक लगाउने र अरु पैसा लिएर कर्मचारीले टिक लगाइदिने क्रम भने बागमती प्रदेशका सबैजसो यातायात व्यावस्था कार्यालयमा कायमै रहेको सेवाग्राहीहरु बताउँछन् ।

बिशेषगरी हेटौंडामा मोटरसाइकल र कार थोरै अनी ट्याक्टर, बस, ट्रक, अटो, मयुरी, एक्साभेटर, लोडर लगायतका सवारीका साधनको लाइसेन्स लिदा धेरैजसोमा सेटिङ हुने गरेको जनगुनासो आउने गरेको छ ।

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० देखि १५ प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार हेटौंडा सहित काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए ।

पहिले दुई पाङ्ग्रे सवारीसाधनमा स–साना गल्तीका कारण फेलको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताए ।

दुई पाङ्ग्रे सवारीसाधनमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चार पाङ्ग्रे सवारीसाधनको परीक्षामा भने पहिलेभन्दा उल्लेखनीय रुपमा बढ्न नसकेको उनले बताए । गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने गरेको प्रमुख कपालीले बताए । चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उनको भनाइ छ ।

अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधि अनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए । धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताए। उनले भने, अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् । यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भीड व्यवस्थापनको समस्या रहेकामा अहिले उक्त समस्या समाधान भइरहेको उनले बताए ।

नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ । प्रमुख कपालीले भने, लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*