आज आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै, भोटो जात्रा भोलि

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८०, बुधबार ०९:५३

मकवानपुर ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ ।

अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ । आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ ।

पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ । नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भाेटो जात्रासँगै भोलि सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*