सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु

बकैया दर्पण संवाददाता
२ फाल्गुन २०७९, मंगलवार ०९:४७

मकवानपुर । सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता सुरु भएको हो । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात व्यवसायी र मजदुरले आन्दोलन गरेका छन् । हिजो उनीहरुले काठमाण्डाैकाे नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए ।

आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए ।

आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए । झडपमा केही प्रहरी पनि घाइते भएका थिए । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । उनीहरुको आन्दोलनका कारण काठमाण्डौ उत्यकामा आज कम गाडी चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको संख्या आज कम रहेको जनाएको छ । यातायात व्यवसायी र मजदुरको आन्दोलनका कारण यात्रु मारमा परेका छन् । सामाजिक सञ्जालमा आन्दोलनको विरोध र आलोचना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*