आठौं राष्ट्रिय योग दिवस मनाइँदै

बकैया दर्पण संवाददाता
१ माघ २०७९, आईतवार १२:२१

मकवानपुर । आठौं राष्ट्रिय योग दिवस आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ तय गरेको छ । मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पुर्याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैलाउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।

अन्तर्राष्ट्रिय योग दिवस भने जुन २१ मा मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*