नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै त्रिभुवन विश्वविद्यालय

बकैया दर्पण संवाददाता
२१ पुष २०७९, बिहीबार ११:१८

मकवानपुर । त्रिभुवन विश्वविद्यालय नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै गएको छ । त्रिवि नेपालमा रहेका ९ वटा विश्वविद्यालय मध्ये सबैभन्दा पुरानो, देशभर विस्तार भएको र सर्वसुलभ विश्वविद्यालय हो । जहाँ ९ सङ्काय अन्तर्गत ४० केन्द्रीय विभाग, ६२ वटा आङ्गिक क्याम्पस र १ हजार ६२ सम्वद्ध विभिन्न विषयका क्याम्पसहरूमा ८ लाख विद्यार्थी अध्ययनरत छन् । तर त्रिविले समयमै नतिजा प्रकाशन गर्न सकेको छैन ।

नतिजा समयमा नआउँदा विदेशमा पढ्न जाने बाटो रोकिएको छ भने रोजगारीको अवसरबाट पनि बञ्चित हुनुपरेको विद्यार्थीहरूको गुनासो छ । त्रिविमा अध्ययनरत विद्यार्थीले ६ महिना पढेको एक समेस्टरको नतिजाको लागि झण्डै डेढ वर्षम्म कुर्ने गरेका छन् । अहिले मानविकी र व्यवस्थापन सङ्कायको चौथो सेमेस्टरको परीक्षा दिएर बसेकाहरू नतिजाको पर्खाइमा छन् । नियमित समयमा नतिजा सार्वजनिक भएको भए ४ महिना मै विद्यार्थीले आफ्नो नतिजा थाहा पाइसक्नुपर्ने थियो । तर अझै पनि नतिजा सार्वजनिक भएको छैन ।

सह परीक्षा नियन्त्रक डा. घनश्याम ठाकुरले कोरोना महामारीसँगै कर्मचारी अभावका कारण समयमा नतिजा प्रकाशन गर्न नसकिएको बताउनुभयो । समयमा नै नतिजा प्रकाशित नहुँदा विश्वविद्यालयको गरिमा नै खस्कने भएकाले यसमा ध्यान दिन विद्यार्थीहरूको सुझाव छ । नतिजा प्रकाशनमा ढिलाई हुँदा नयाँ भर्नामा समेत प्रभाव परिरहेको छ । एक त राजनीति हावी हुने र पढाइ नै कम हुने अर्को परीक्षा र नतिजा समयमा नहुने भन्दै त्रिवि प्रति विद्यार्थीको आकर्षण नै कम हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*