मकवानपुर १ (ख)मा एकालाल श्रेष्ठ सबैभन्दा अगाडि

बकैया दर्पण संवाददाता
३० कार्तिक २०७९, बुधबार १४:००

मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत् प्रदेशसभा (ख)मा मत विश्लेषण गर्दा एमालेका एकालाल श्रेष्ठ सबैभन्दा अगाडि देखिएका छन् ।

नेकपा एमाले मकवानपुरका अध्यक्षसमेत रहेका श्रेष्ठ गठबन्धन र राप्रपाका उम्मेदवारभन्दा अगाडि देखिएका हुन् । प्रदेशसभा १ को (ख)मा प्रमुखतः नेकपा एमाले, गठबन्धन र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ । जसमध्ये एमालेका श्रेष्ठ सबैभन्दा बलियो प्रतिस्पर्धी रहेको मत विश्लेषणले देखाएको छ । यस निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ गरी १२ वटा वडा पर्छ ।

गत ३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा १२ वटा वडामध्ये ४, ५, १०, १३, १४ र १५ गरी ६ वटा वडामा एमाले विजयी भएको थियो । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले २, ६, ७ र ८ नम्बर वडा जितेको थियो । ९ नम्बर वडामा नेकपा (एकीकृत समाजवादी) र १२ नम्बर वडामा माओवादी केन्द्रले जितेको थियो । वडाको मतलाई हेर्दा पनि एमाले र गठबन्धन आधा–आधा देखिन्छ । जसमध्ये ९ नम्बर वडामा एमाले बलियो छ ।

२, ७ र ८ नम्बर वडामा पनि एक्लाएक्लै लडे एमाले बलियो देखिन्छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका उम्मेदवारले जिते पनि कार्यपालिकामा भने एमालेको बहुमत छ ।
प्रदेशसभा १ को (ख)मा एमालेका श्रेष्ठसहित गठबन्धनबाट आनन्तराम पराजुली, र राप्रपाका गुञ्जबहादुर न्यौपाने चुनावी मैदानमा छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरु पनि यहाँ चुनावी प्रतिस्पर्धामा रहेपनि दाबेदारका रुपमा श्रेष्ठ र पराजुली हुन् ।

गत स्थानीय तहको निर्वाचनमा २ देखि ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४ र १५ नम्बर वडा अध्यक्षले पाएको मतलाई हेर्दा पनि एमाले बलियो दाबेदार हो । एमाले एक्लैले निर्वाचन लडेर १९ हजार २ सय ४६ मत ल्याएको छ ।

कांग्रेस एक्लैले १४ हजार मत पाएको छ । जसमा गठबन्धनको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत गठबन्धनका उम्मेदवार पराजुलीलाई थपिने हो । माओवादीले १२ नम्बर वडा मात्रै जितेको थियो । एकीकृत समाजवादीले ९ नम्बर वडा जितेको हो ।

९ नम्बर वडाको हकमा वडा अध्यक्षलाई आएको पूरा मत गठबन्धनतर्फ जोड्न निमिल्ने विश्लेषण गरिन्छ । ९ नम्बर वडामा एकीकृत समाजवादीका वडा अध्यक्षले व्यक्तिगत लोकप्रियताका आधारमा मत ल्याएका थिए ।
९ नम्बर वडामा एक्ला–एक्लै लडे एमाले बलियो रहेको २०७४ को प्राप्त मतलाई हेर्दा देखिन्छ । हेटौंडाको २ नम्बर वडामा पनि कांग्रेसका वडा अध्यक्षले जितेका थिए ।

प्रदेशसभा निर्वाचनमा वडा अध्यक्षलाई आएको मतकै हाराहारीमा प्रदेशसभाका उम्मेदवारलाई पनि मत आउन नसक्ने विश्लेषकहरु बताउँछन् । वडा अध्यक्षमा व्यक्ति गौण रहेता पनि प्रदेशसभा निर्वाचनमा पार्टी प्रमुख रहने बताइन्छ । दलकै शक्तिका आधारमा हेर्दा पनि एमालेका एकालाल श्रेष्ठ बलिया हुन् ।

हेटौंडामा एमाले सर्वशक्तिमान पार्टी रहेको विगतका निर्वाचनको मतपरिणामले देखाउँछ । गठबन्धनका उम्मेदवार पनि कमजोर भने छैनन् । उनी २०७४ मै मेयर पदमा उठेका थिए । माओवादीसँग गठबन्धन गरेका पराजुलीलाई एमालेले नै हराएको थियो । एमालेले गठबन्धन नै नगरी हेटौंडामा मेयर र उपमेयर नै एक्लै निर्वाचन जितेको हो ।

हेटौंडाको २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ नम्बर वडामा एउटा राजनीतिक दलले गरेको आन्तरिक मत सर्वेक्षणमा पनि एमालेका एकालाललाई अगाडि देखाएको छ । उक्त सर्वेक्षणमा राप्रपाका उम्मेदवार न्यौपानेलाई धेरै मत आउने देखिन्छ ।

कांग्रेसहरुको पकट रहेको ६ नम्बर वडाबाटै न्यौपानेले आफ्नो सामुदायिक मत बढी ल्याउने उक्त सर्वेक्षणले देखाएको छ । जसकारण पराजुलीलाई थप धक्का लाग्ने देखाएको छ ।

उक्त सर्वेक्षणले एकालालको ३५ प्रतिशत, गठबन्धनका पराजुलीको ३३ प्रतिशत र राप्रपाका न्यौपानेको ३२ प्रतिशत मत आउने देखाउँछ । उक्त सर्वेक्षणलाई गलत मान्न नमिल्ने हेटौँडाका विश्लेषकहरु बताउँछन् ।
पछिल्लो समय राप्रपाप्रति जनमत बढेको विश्लेषण गर्दा न्यौपानेले केही मत बढी ल्याउने देखिएको विश्लेषकहरु बताउँछन । न्यौपानेले बढी मत ल्याउँदा एकालालले निर्वाचन जित्ने मत सर्वेक्षणले देखाएको हो । हेटौंडामा गठबन्धनका माओवादी र एकीकृत समाजवादीको जनमत थोरै रहेकाले पनि पराजुलीलाई असर पर्ने देखिएको हो ।

कांग्रेस मकवानपुरभित्र असन्तुष्टि बढेकाले पनि एमालेका श्रेष्ठलाई निर्वाचन जित्न थप सहज बनाएको विश्लेषण गरिन्छ । कांग्रेसले पार्टी महासमिति सदस्यदेखि जिल्ला सदस्य र तरुण दलका उपाध्यक्षसमेतलाई गरेर मंगलबार १६ जनालाई कारबाही गरेको थियो ।

पार्टीभित्र तीव्र असन्तुष्टि बढेको कारबाही प्रकणबाटै प्रष्ट देखिएको विश्लेषकहरु बताउँछन् । मकवपानपुरमा कांग्रेस बिपिहरुको प्रभाव बढेकाले पनि गठबन्धनको भोट काटिन सक्ने सम्भावना बढेको बताइन्छ ।
(सोधिखोजीबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*