कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन

बकैया दर्पण संवाददाता
५ भाद्र २०७९, आईतवार १०:१३

मकवानपुर । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ ।

नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो ।

अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो । गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका अधिकांश अंगले काम समेत गर्न छाडेका थिए ।

को हुन् प्रदीप गिरी ?

गिरीको जन्म सिराहाको बस्तीपुरमा सम्पन्न परिवारमा भएको थियो । उहाँको परिवार नै राजनीति क्षेत्रमा क्रियाशील रहेको थियो । उहाँका दुई जना काका प्रधानमन्त्री र गृहमन्त्री बनिसकेका थिए । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भएका थिए । उहाँका बुबा मित्रलाल भने नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा सिराहा सभापति बन्नु भएको थियो ।

प्रदीप गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भएको थियो । गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लाग्नुभएको थियो ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा उहाँले जेल जीवन समेत बिताइसक्नु भएको थियो । उहाँ २०२४ सालमा नेपाल छात्र संघ (बनारस) को निर्वाचित उपाध्यक्ष हुनुभएको थियो ।

बहुदल आएपछि गिरी पटक–पटक सांसद समेत हुनुभएकाे थियो । उहाँ कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । गिरी २०५१ मा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो भने २०५६ मा चाहिं पराजित हुनुभयो । त्यस्तै २०६३ सालको पुनर्स्थापित संसदमा मनोनित हुनुभयो भने २०६४ र ०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद हुनु भयो । त्यस्तै, २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर सिराहा क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित हुनुभयो । उहाँ कहिलै पनि मन्त्री बन्न भने सक्नु भएन । तर उहाँले मन्त्री बन्नका लागि खासै रुचि राख्नु भएकाे थिएन् ।

२०५६ सालमा पोखरामा भएकाे महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले पार्टीको १४ औं महाधिवेशनमा भने सहभागी हुन पाउनुभएन् ।

नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी गिरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुनुहुन्थ्यो । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै गिरीले बीपीसँग संगत गर्न पाउनुभएको थियो  ।

कांग्रेसमा उहाँ कृष्णप्रसाद भट्टराई नजिककाे नेताका रूपमा चिनिनु हुन्थ्यो भने २०५९ असारमा कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवातिर लाग्नुभएकाे थियो । उहाँ प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य समेत बन्नुभयो ।

उहाँ अध्ययन, अनुसन्धान र लेखनका क्षेत्रमा समेत रुचि राख्ने गर्नुहुन्थ्याे । उहाँले लेखेका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् ।

भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएका गिरीले नेपाली राजनीतिमा प्रखर नेताको छवि समेत बनाउनुभएकाे थियाे ।

कांग्रेसमा सक्रियता र सहभागिता भएपनि उहाँले समाजशास्त्रको अध्ययन गर्नुभएकाे थियाे । उहाँले मार्क्सवाद आत्मसात गर्दै नेपालका थुप्रै मार्क्सवादीहरूलाई मार्क्सवाद पढाउनुभयो । त्यसैले उहाँ युवादेखि वृद्धसम्म र प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय बन्न सफल हुनुभएकाे हाे ।

उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ । (इमेजखबरबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*