दोस्रो चरणको अनुसन्धानमा २ इन्सपेक्टरलाई खटाएपछि एआईजीको सरुवा

बकैया दर्पण संवाददाता
३ भाद्र २०८०, आईतवार १४:५१

मकवानपुर । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्‍यो। गृह मन्त्रालयले लगेको एआईजी सरुवाको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि ५ एआईजीहरुको जिम्मेवारी हेरफेर भयो।

सरुवाका लागि मुख्य ‘टार्गेट’मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, एआईजी श्यामलाल ज्ञवाली थिए। ज्ञवालीको मात्रै सरुवा गर्दा थप विवाद हुने देखिएपछि ५ जना एआईजीको सरुवा गरिएको हो।

काठमाडौंका उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर०को एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पठाएर उनको ठाउँमा प्रशासन विभागका एआईजी दीपक थापाको सरुवा गरिएको छ।

अन्य एआईजीको सरुवाभन्दा अहिले एआईजी ज्ञवालीकै सरुवा केन्द्रमा छ। ज्ञवालीकै प्रत्यक्ष निर्देशन र कमाण्डमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो । जुन प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डेसहित अन्य हाइप्रोफाइल व्यत्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । उनीहरु अहिले मुद्दाको पुर्पक्षका लागि थुनामा छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धादेखि नै सत्तासझेदार मुख्य घटक नेपाली कांग्रेस सरकारसँग असन्तुष्ट बन्दै एआईजी ज्ञवालीको तत्काल सरुवा गर्नुपर्ने पक्षमा उभिएको थियो । तर कांग्रेसभित्रै एउटा खेमाले भने उक्त प्रकरणमा राम्रो काम भएको भन्दै गृहमन्त्रीलाई भेटेरै धन्यवाद दिएको थियो । कांग्रेसभित्रकै दुई धारका कारण त्यतिबेला ‘टार्गेट’मा परे पनि एआईजी ज्ञवालीको सरुवा भएको थिएन । अहिले भने पुनस् कांग्रेसकै जोडबलमा एआईजी ज्ञवालीको सरुवा गरिएको छ । यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मनोज केसीको सरुवा गर्ने तयारी गरिएको छ ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌ बैठकले सरुवाको निर्णय गर्दा एआईजी ज्ञवाली भने अमेरिका थिए। उनी अहिले पनि अमेरिका नै छन् ।

प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका केही पीडितहरु अमेरिकामा समेत छन् । अमेरिका पुगेका ज्ञवालीको उनीहरुसँग पनि भेट हुन सक्ने सम्भावना छ । अमेरिकामा रहेका पीडितहरुबाट ‘बलियो प्रमाण’ फेला पर्ने सम्भावना देखिएपछि शक्ति केन्द्रबाट उनको सरुवाका लागि चर्को दबाब आएको प्रहरी स्रोत बताउँछ ।

ज्ञवालीले सम्भावित ‘बलियो प्रमाण’ फेला पारे थप प्रभावशाली व्यक्ति र नेताहरु तानिने सम्भावना रहेको स्रोतको दाबी छ ।

‘ज्ञवाली सापको भ्रमणका क्रममा अमेरिकामा रहेका पीडितहरुसँग पनि भेट हुन्छ कि भनेर यहाँ चासो र चिन्ता पनि छ । त्यहाँका पीडितबाट केही प्रमाण भेटिएमा त्यसले थप प्रभावशाली व्यक्तिलाई तान्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो, ‘त्यो सम्भावना देखिएपछि अमेरिकाबाट फर्किनु अगाडि नै सरुवा गरियो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै भएको करोडौं ठगी प्रकरणमा पहिलो चरणको अनुसन्धान भएको थियो । बाँकी केही आरोपी फरार रहेको र थप अनुसन्धान गर्न बाँकी नै रहेको भन्दै श्यामलाल ज्ञवालीको निर्देशनअनुसार दोस्रो चरणको अनुसन्धान खुला राख्दै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सरकार वकिललाई फाइल बुझाउनुअघि प्रहरी परिसर काठमाडौंको कार्यालय, टेकु नै पुगेर एआईजी ज्ञवाली आफैंले मुद्दाको फाइल अध्ययन गरेका थिए । जसक्रममा उनले बाँकी अनुसन्धान खुला राख्ने बाटो कायम राख्दै फाइल बुझाउन निर्देशन दिएका थिए। सोहीअनुसार बाँकी अनुसन्धानको बाटोलाई खुला राख्दै प्रहरीले फाइल बुझाएको थियो ।

त्यसपछि दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई बाटो खुला थियो । अहिले एआईजी ज्ञवालीकै निर्देशनअनुसार दोस्रो चरणको अनुसन्धान अघि बढाइएको हो ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सम्पूर्ण विवरण केलाएका तथा मुद्दामा बसेर काम गरेका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) नानिकाजी थापा र राजु अधिकारीलाई अहिले दोस्रो चरणको अनुसन्धानका लागि खटाइएको थियो। यो विषय प्रहरीभित्रै पनि गोप्य राखिएको थियो ।

परिसर टेकुमा कार्यरत रहेका उनीहरुको अन्यत्र सरुवा भए पनि एआईजी ज्ञवालीको निर्देशनअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा पठाइएको थियो । अपराध अनुसन्धान कार्यालयमा उनीहरुका लागि छुट्टै एउटा युनिट खडा गरेर एसएसपी मनोज केसीले काममा लगाएका थिए । यो विषय सोही कार्यालयमा समेत गुपचुप राखिएको थियो । एआईजी ज्ञवालीको निर्देशनअनुसार सुक्ष्म ढंगले एसएसपीले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढाएका थिए ।

स्मरण रहोस् केसी अपराध अनुसन्धान कार्यालयमा आउनु अगाडि नै नक्कली भुटानी शरणार्थी प्रकरणका उजुरी परेको थियो । २ जना एसएसपीले आफ्नो कार्यकाल सक्दा समेत भुटानी प्रकरणको फाइल अगाडि बढाएका थिएनन् । जब केसीले अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले त्यसपछि मात्रै भुटानी प्रकरणको अनुसन्धानले गति लिएको थियो । उनैले उठान गरेको अनुसन्धानले उक्त प्रकरण हाइप्रोफाइलसम्म पुग्यो र उनीहरु अहिले थुनामा छन् ।

अहिले दोस्रो चरणको अनुसन्धान पनि एसएसपी केसीले सुक्ष्म ढंगले अगाडि बढाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि भनेर लगिएका २ इन्सपेक्टरकै सक्रियताले अहिले थप १८ जना पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए। साउन २९ गतेमात्रै १८ जना पीडितले १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै ३ वटा छुट्टाछुट्टै उजुरी दिएका थिए ।

पुनस् भुटानी प्रकरणको उजुरी आएको विषय सार्वजनिक हुनेबित्तिकै एआईजी ज्ञवालीलाई उपत्यका कमाण्डबाट हटाइएको छ । पुनः उजुरी आएपछि यसअघि यो प्रकरणमा पक्राउ परकोहरु सबैजनाको थप बयान लिने बाटो खुल्ने र दोस्रो चरणको अनुसन्धान सुरु हुने भएपछि कांग्रेसकै दबाबमा एआईजीको सरुवा भएको प्रहरी वृत्तमा चर्चा छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा ज्ञवालीको ठाउँमा सबैलाई ‘रिझाउन सक्ने’ एआईजी दीपक थापालाई ल्याइएको छ ।

यति मात्रै होइन भुटानी प्रकरणको अनुसन्धान गरेका अपराध अनुसन्धान कार्यालयका एसएसपी केसीको पनि सरुवा तयारी गरिएको छ । पुनः दुई इन्सपेक्टरलाई भुटानी प्रकरणमा उनले अनुसन्धानमा खटाएका थिए । एसएसपी केसीको प्रत्यक्ष कमाण्डमा उनीहरु खटिँदै आएका थिए। उनीहरु २ जनामध्ये १ जना राजु अधिकारी भने अहिले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन् ।

एआईजी ज्ञवालीपछि अब एसएसपी केसीसहित परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की, ललितपुर परिसरका एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्ने तयारी गृह मन्त्रालयको छ ।

दोस्रो चरणको अनुसन्धान अघि बढेसँगै प्रहरी अनुसन्धानको कमाण्ड गरेका प्रहरी अधिकारीकोहरुको सरुवा हुनुले अनुसन्धान हुनेमा आशंका उब्जिएको छ । यद्यपि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने दोस्रो चरणको अनुसन्धानमा विश्वसत हुन आग्रह गरेका छन् । माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान हुने बताएका हुन् ।

दोस्रो चरणको अनुसन्धानको केन्द्रमा बेचन झा छन् । पहिलो चरणको अनुसन्धानको अन्त्यतिर भारतीय नागरिक बेचन झाको नाम यो प्रकरणमा जोडिएको थियो । तर प्रहरीले उनको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

झाको नेपाली कांग्रेसकी नेता तथा सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासँग पनि राम्रो सम्बन्ध रहेको देखिएको छ । नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरिएका झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ ।

ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा समेत जोडिएका अनुसन्धानबाट खुलेको छ । उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ । ठगीमा संलग्न गिरोहबाट उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको छ। त्यसयता उनी फरार छन् ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।

विचौलियाहरुकै सेटिङमा कार्यदलमा मान्छेहरु राखेर बादलकै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ । यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हाइप्रोफाइलसहित १६ जना मुद्दाको पुर्पक्षका लागि कारागारमा छन् । बाँकी २ जना लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए । (नेपाललाइभ)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*