पिरोलिएका प्रचण्ड र बालुवाटार बैठकको रहस्य

बकैया दर्पण संवाददाता
१२ असार २०८०, मंगलवार २१:५१

मकवानपुर  । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गुम्ने आशंकाले पिरोलिन थालेका छन् । एमाले–कांग्रेस मिलेर सरकार बनाउन लागेको हल्लाले प्रचण्डमा बेचैनी मात्रै बढाएको छैन, माओवादीसहित साना दलहरुमा सत्ता गुम्ने डर उत्तिकै बलियो बन्न पुगेको छ । सत्तामा संकट आएको ठानेका प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि बालुवाटार बोलाएर प्रचण्डले छलफल नै गरेका छन् । तर, यो छलफलले सरकारलाई कस्तो आधार दियो त ?

प्रतिपक्षी संसदीय मत पाएको माओवादी केन्द्र सत्ताको नेतृत्व लिने मनशायमै रहेका कारण एमालेसँग अप्रत्यासित गठबन्धन गर्न पुग्यो । कट्टर राजावादी हुन वा प्रधानमन्त्री प्रचण्डकै भनाईमा रंग र भेद नखुलेका दलहरु नै किन नहुन्, सबै सत्ता सहयात्री बने । प्रचण्डलाई विचार, आदर्श र सिद्धान्त भन्दा सत्ता चाहिएको थियो । सोहि अनुसार गरे । सत्ता प्राप्त गरेका प्रचण्डले फेरि एकाएक गठबन्धन फेरे । कांग्रेससहितको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डले छोटो समयमै फेरि सत्ता संकट पो आइपर्ने हो कि भन्ने मनोदशाले घेरिन पुगेका छन् ।

सत्ता जहिले पनि जोखिममा हुने विषय हो । अझं हाम्रो मुलुकको सत्ता कहिले पनि स्थिर बन्न सकेको देखिन्न । यसकारण पनि सरकार फेरिने डर जहिले पनि उत्तिकै रहन्छ । यसैमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार फेरिने दाबा गर्दै आएको छ । कांग्रेस नेतृत्वमा सरकार बन्ने हल्ला व्यापक बनेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले सिंगापुरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग वार्ता गरेको विषयले थप तरङ्ग पैदा गरिदियो । यस्तै कुरा सुनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी कांग्रेस नेतृत्वको सरकार बनाउन ओली सक्रिय रहेको आरोप लगाए ।

माधवले यस्तो बताएपछि सत्ताबारे विभिन्न टिप्पणी हुन थाले । यहि पेरिफेरिमा बालुवाटार बैठकमा देउवाले कुनै भेट नभएको र गठबन्धन नफेरिने दाबी दोहोर्याएको बताइन्छ । तर, कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेस–एमालेको सरकार बनाउने कुरा सुनेको बताएका छन् ।

कोइरालाले देउवासँग भेट नभएका कारण आफूलाई यो विषयमा धेरै जानकारी नभएको पनि बताएका छन् । तर, वालुवाटार बैठकमा देउवाको ब्रिफिङ सुनेका प्रधानमन्त्री प्रचण्डले भने गठबन्धन पाँचै वर्ष टिक्ने जिकिर लिएका छन् ।

सरकार ढाल्नु राजनीतिक अस्थिरता निम्त्याउनु हो भन्ने तर्क राख्दै आएका सत्तारुढ दलका केहि सांसद र मन्त्रीहरुले कुन दिन बाहिरिनु पर्ने हो भन्दै प्रचण्डलाई सोध्न थालेको बताइन्छ । अझं, सरकार ढल्ने विषयको हल्लापछि सरकारले नक्कली शरणार्थी प्रकरणदेखि जलहरी प्रकरणमा नयाँ विषयलाई उजागर गर्ने कोसिस गरिरहेको छ । समाचारहरुमा देउवा पत्नी आरजु राणा, कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको विषय होस वा जलहरीमा देखाएको सक्रियता नै किन नहोस, यस्ता विषय सत्ता संकटको विषय बाहिर आएपछि बाहिर आएका तथ्य हुनसक्ने कतिपयको आशंका छ । यद्यपी सरकार ढाल्ने र नयाँ बनाउने कोसिस भने आन्तरिक रुपमा तीब्र बन्दै गएको टिप्पणी भने बलियो बन्न थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*