अधिकारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार ११:१७

मकवानपुर । सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ ।

मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

सोही माइक्रोबसमा रहेका ३५ वर्षका महावीर विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा बिहान साढे सात बजेतिर उहाँको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

महावीर विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता हुनुहुन्थ्यो। उहाँ टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न हुनुहुन्थ्यो। चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर विश्वर्मा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव हुनुहुन्थ्यो ।

सो दुर्घटनामा माइक्रोबसका चालक २६ वर्षीय शंकर चौधरीको बायाँ खुट्टा र नाकमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको डीएसपी पण्डितले बताउनुभयो । अन्य चारजनाको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*