सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दर्ता

बकैया दर्पण संवाददाता
१४ कार्तिक २०७९, सोमबार १३:३२

मकवानपुर । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएकाे छ ।

साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेकाे हाे । प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियाे ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ ।

उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो ।

भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरीले भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद छ ।

ती अनुसन्धान अधिकृतका अनुसार अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिएकाे छ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुनेछ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए ।पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान भएकाे छ ।

सन्दीपले आफूमाथि लागेकाे आराेप अस्वीकार गर्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*