बाहिरियाे शनिबारदेखि मनसुन

बकैया दर्पण संवाददाता
३० आश्विन २०७९, आईतवार ०६:३९

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ बाहेकका प्रदेशबाट शनिबार मनसुन बाहिरिएको बताएको छ । महाशाखाले शनिबार बुलेटिन निकालेर जेठ २२ गते (जुन ५) मा पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन शनिबार बाहिरिएको जनाएको हो । गत वर्षभन्दा ४ दिन ढिलो गरी (१५ अक्टोबर) मनसुन बाहिरिएको हो । गत वर्ष ११ अक्टोबरमा मनसुन बाहिरिएको थियो । 

‘नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ,’ महाशाखाले भनेको छ, ‘बाँकी भू–भागबाट मनसुन बहिगर्मन हुन अझै केही दिन लाग्ने सम्भावना छ ।’

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले नेपालमा मनसुन अन्त्य भएसँगै आगामी आगामी हप्ता भरि नेपालमा घमाइलो मौसम रहने ट्विटमा उल्लेख गर्नुभएको छ ।

विभागले अक्टोबर २ (असोज १६) मा मनसुन बाहिरिने आकलन गरेको थियो, तर भारतका विभिन्न स्थानमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण मुलुकका विभिन्न भागमा मनसुनी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आकलन गरेभन्दा विपरीत असोज तेस्रो साता (असोज १६ पछि) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ । असोज तेस्रो साता हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, मनाङसम्मै भारी वर्षा भएको थियो । यो वर्ष २२ जेठमा मनसुन सुरु भएको थियो ।

प्राय: जेठ ३० (१३ जुन) मा मनसुन भित्रिने गरे पनि एक साताअघि मनसुन प्रवेश भएको थियो । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमै गरेका थिए । यो वर्षको मनसुन अवधिको जुन, जुलाई र अगस्टमा भने औसतभन्दा कम मात्र वर्षा भएको थियो । सेप्टेम्बरदेखि भने देशका विभिन्न भागमा औसतभन्दा बढी वर्षा भएको विभागको भनाई छ ।

विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार सन् २००० पछि सन् २०२१ सम्मका २१ वर्षको अवधिमा ५ वटा वर्षमा मात्र सेप्टेम्बरभित्रमा मनसुन बाहिरिएको छ । सन् २०१३ मा १९ अक्टोबरमा मात्र मनसुन बाहिरिएको थियो भने गत वर्ष अक्टोबर ११ मनसुन बाहिरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*