उपमहानगरमा ठूला तीन दलले खोले खाता

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १२:४०

मकवानपुर । मतगणना सुरु भएको एक साता भएको छ। स्थानीय गाउँपालिका र नगरपालिकाको नतिजा सार्वजनिक हुने क्रममा छन्। यसैक्रममा उप-महानगरपालिकाको नतिजा पनि सार्वजनिक भइरहेका छन् ।

११ वटा उपमहानगरपालिकामध्ये तीन वटाको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले खाता खोलेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भए ।

उनले २३ हजार ४६० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे । विष्ट गठबन्धनका साझा उम्मेदवारसमेत हुन् ।

यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन् ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका र नेकपा एमालेले जित हासिल गरेको छ । घोराहीको मेयरमा एमालेका नेता नरुलाल चौधरी ३१ हजार ७२८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भूपवहादुर डाँगीले १७ हजार ४८४ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*