स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्था कडा, मधेशका २ हजार ९९ मतदान केन्द्र अति संवेदनशील

बकैया दर्पण संवाददाता
२८ बैशाख २०७९, बुधबार १५:०१

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेश प्रदेशमा सुरक्षा थ्रेट रहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशमा भयरहीत मतदान गराउन सीमानाका बन्द गरिएको छ । देशभरिका मतदान केन्द्रहरूमध्ये मधेश प्रदेशमा रहेका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । सप्तरीमा २ सय ८ मतदानस्थल र ३ सय ८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।

सिरहामा १ सय ७० वटा मतदानस्थल र ३ सय ८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै महोत्तरीका १ सय १० मतदानस्थल, २ सय १४ मतदान केन्द्र, सर्लाहीका १ सय ३ मतदानस्थल र २ सय ५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १ सय ६१ मतदान केन्द्र, बारामा १ सय ४४ वटा मतदान स्थल र २ सय ५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १ सय ६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।

प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ । जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीले एकीकृत सुरक्षा योजनाअन्तर्गत काम गरिरहेको बताउनुभयो । उहाँले देशभरका सबै मतदान केन्द्रहरुमा म्यादी प्रहरीसमेत गरी १ लाख ६५ हजार भन्दा बढी फौज परिचालन भइसकेको बताउनुभयो ।

प्रवक्ता केसीले निर्वाचनको क्रममा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न उच्च हिमाली भेगहरू र खुला सीमानाका भएका क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिनुभयो ।

उहाँले खुला नाका भएका क्षेत्रहरूमा साना हातहतियारको प्रयोग हुनसक्ने र निर्वाचनलाई लुकीछिपी अशान्ति मच्चाउन सक्ने तत्वहरुमाथि नेपाल प्रहरीले आफ्नो निगरानीमा राखेको बताउनुभयो ।

प्रवक्ता केसीले निर्वाचनलाई भयरहीत बनाउन संगठनको तर्फबाट गर्ने कामहरु मतपेटिकाको सुरक्षा, मतदान स्थलमा खटिने निर्वाचनसँग सम्वद्ध कर्मचारीहरुको सुरक्षा, जिल्लास्थित जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा, मतदान स्थलमा रहने मतदान अधिकृतहरुको सुरक्षाका सम्पूर्ण जिम्मेवारीका लागि पनि नेपाल प्रहरी तयार रहेको बताउनुभयो ।

मतदानपश्चात् मतपेटिका, उम्मेदवार जित्ने र हार्ने पक्ष दुवै पक्षको सुरक्षाका लागि नेपाल प्रहरीले आवश्यक सुरक्षा योजना बनाएर त्यो अनुसारको तयारी गरेको उहाँको भनाइ छ ।

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताउनुभयो ।

४ वटै सुरक्षा निकायहरुले जुनकुनै किसिमको चुनौतिलाई पनि सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहेकोले मतदाताले भयरहीत वातावरणमा आफ्नो संवैधानिक हक प्रयोग गर्नसक्ने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*