आजदेखि मौन अवधि शुरू

बकैया दर्पण संवाददाता
२८ बैशाख २०७९, बुधबार १०:०५

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को लागि मंगलबार मध्यरातदेखि मौन अवधिमा सुरु भएको छ। यो अवधिमा स्थानीय तहको निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् ।

निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ। त्यसैले यो अवधिमा निर्वाचनका उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्ति माथि निर्वाचन आयोगले निगरानी राखेको हुन्छ।

निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता विपरितका कार्य हुन नदिने, मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आग्रह गरेको छ।

यो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिएको छ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि राखिएको हो।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने लगायतका व्यवस्थाहरु रहेका छन्।

स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भइसकेका छन्। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग सम्पूर्ण मतदातालाई अपिल गर्दै त्यसका लागि साथ दिन सञ्चारमाध्यम, नागरिक समाज र सबैमा आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*