कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

काठमाडौंमा सिर्जना सिंह, विराटनगरमा नागेश कोइराला र ललितपुरमा चिरिबाबु महर्जन
बकैया दर्पण संवाददाता
१२ बैशाख २०७९, सोमबार १२:२३

लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ ।

महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै पार्टी राजनीतिमा सक्रिय सिंह सत्तारुढ पाँच दलीय गठबन्धनकै साझा उम्मेदवार बन्नुभएको हो ।

उता, निकै माथापच्ची भएको विराटनगर महानगरपालिकाको मेयरमा भने नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । त्यहाँ पार्टी सभापति शेरबहादुर देउवा अमृत अर्याल, कृष्ण सिटौला भीम पराजुली र नेता शेखर कोइराला नागेशका पक्ष उभिँदा निर्णय हुन लामो समय लागेको हो ।

ललितपुर महानगरपालिकामा भने वर्तमान मेयर चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । ललितपुरमा चिरिबाबुका साथमा प्रेमकृष्ण महर्जन र चन्द्र महर्जन मेयर पदमा उम्मेदवार बन्न आकांक्षी थिए ।

तीनै महानगरपालिकाको उम्मेदवारको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले आज (साेमबार) बिहान टुग्गो लगाउनुभएको हो । कांग्रेस केन्द्रीय संसदीय समितिले महानगरको मेयर र उपमेयरको टिकट टुग्गो गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

उम्मेदवारी टुग्गिएसँगै नेताहरुले दिउँसो आ–आफ्नो क्षेत्रको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*