माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

बकैया दर्पण संवाददाता
११ बैशाख २०७९, आईतवार ०९:५७

काठमाडौं । सत्तारुढ गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्रले महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डा पाएको थियो ।

माओवादी केन्द्रले आफ्नो भागमा परेको चितवनको भरतपुर महानगरको मेयरमा रेणु दाहाल र ललितपुर महानगरको उपमेयरमा बाबुराजा ब्रजाचार्यलाई उम्मेदवार बनाएको छ ।

यस्तै, माओवादी केन्द्रले गठबन्धनबाट आफ्नो भागमा परेको बाराको जीतपुरसिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगर प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस्तै, एकीकृत समाजवादीको भागमा परेको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाएको छ ।

बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*