सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको प्रधानमन्त्री देउवाको आरोप

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १४:४७

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको भन्दै आशंक व्यक्त गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आज मंगलबार भएको कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राख्नुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज पार्टीभित्र उठिरहेका बेला देउवाले गठबन्धन गरेरै कांग्रेसको नेतृत्वमा संघीय र प्रदेशमा सरकार गठन गरेको तथा विभिन्न प्रदेशमा मन्त्री बनाएको कुरा पनि स्मरण गराउनुभयो ।

उहाँले गठबन्धन गरेकामा आफूलाई ताली आउनुपर्नेमा गाली आएको भन्दै रोष प्रकट गर्नुभयो ।

चुनावी गठबन्धन गरेर आफूले ठिक गरे पनि कांग्रेसभित्रैबाट त्यसलाई बेठिक देखाउने प्रयास भएको आरोप लगाउनुभयो । उहाँले चुनावी तालमेलले अझ बलियो बनाउने भन्दै यसका विरुद्धमा नबोल्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*