बालुवाटार बैठक स्थगित, भागबण्डा आजै टुंग्याउने दाबी

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १३:२६

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ । गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
उनले बिहानदेखि केही मिडियामा महानगर र उपमहानगरको विभाजनसम्बन्धी भनेर आएको प्रस्ताव सही नभएको समेत बताए ।
आज बेलुकासम्म टुंगो लाउने गरि छलफल चलिरहेको बताए । प्रचण्ड बालुवाटार बैठकपछि स्थानीय चुनाव र गठबन्धनबारे जानकारी गराउन गरेको पत्रकार सम्मेलनका लागि पार्टी कार्यालय पेरिसडाँडामा पुगेका छन् ।
गठबन्धनमा रहेका जनमोर्चाबाहेक अन्य ४ दलले महानगरमा दाबी गरिरहेका छन् । ०७४ को निर्वाचनमा ६ मध्ये २ महानगर जितेको कांग्रेस अहिले कुन महानगर छाड्ने भन्नेमा अलमलमा छ ।
गएको निर्वाचनमा कांग्रेसले ५ वटा महानगरमा दोस्रो मत प्राप्त गरेको थियो । अहिलेको परिस्थितिमा कांग्रेसले गठबन्धनबाट भरतपुर महानगरमा माओवादी केन्द्र, वीरगञ्ज जसपा, पोखरा महानगर एकीकृत समाजवादीलाई छाड्ने स्थिति देखिएको छ ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएपनि पार्टीका तल्ला तहबाट कुनै पनि महानगर नछाड्न चर्को दबाब परिरहेको छ । केन्द्रबाट निर्णय लादे तल्लो तहबाट विद्रोह हुनसक्ने चेतावनीसमेत उनीहरूले कांग्रेसका शीर्ष नेतालाई दिइसकेका छन् ।
गठबन्धनको मुख्य सकस चितवनको भरतपुर महानगरमा पर्ने देखिएको छ । भरतपुर ०७४ सालको निर्वाचनमा पनि कांग्रेसले सघाउँदा समेत प्रचण्डकी छोरी रेणु दाहाल झिनो मतले विजयी भएकी थिइन् । अहिले प्रचण्ड फेरि रेणुलाई नै दोहोर्‍याउने प्रयासमा छन् ।
०७४ सालको निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगर जितेको थियो । कांग्रेस वृत्तमा भरतपुर महानगरमा चर्को विवाद भइरहे पनि प्रचण्डले माथिबाटै निर्णय गरेर आउने बताउँदै आइरहेका छन् ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा देउवाले भरतपुर महानगर माओवादीलाई छाड्ने संकेत गरिसकेका छन् । माओवादीले भरतपुर महानगरबाहेक अन्य महानगरमा खुलेर दाबी गर्न सकेको छैन ।
यता, एमालेबाट विद्रोह गरेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेले जितेका ठाउँमा आफ्नो दाबीलाई स्वाभाविक रुपमा प्रस्तुत गरिरहेको छ । गत निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगर जितेको थियो ।
काठमाडौंमा देउवाले नछाड्ने मनस्थिति बनाएपछि समाजवादीले पोखरा महानगर नछाड्ने रणनीति बनाएको छ । त्यसो त माधव नेपालले गठबन्धनका बैठकमा तथ्यसहित आफ्ना दाबी प्रस्तुत गरिरहेका छन् ।
यस्तै, ०७४ मा वीरगञ्ज महानगर जितेको जसपाले वीरगञ्ज र विराटनगर गरि २ महानगरमा दाबी गरिरहेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी थिए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुन, जनता समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*