भारुमा डलरको दबाबले निचोरिँदै नेपाली, अर्थशास्त्री भन्छन्‌ : ‘फ्लोटिङ रेटमा जानुपर्छ’

बकैया दर्पण संवाददाता
१० मंसिर २०८०, आईतवार १४:१८

मकवानपुर । भारतीय मुद्रामा डलरको दबाब पर्दा आर्थिक शिथिलता भोगिरहेका नेपालीहरु थप निचोरिएका छन् । भारुसँग कायम स्थिर विनिमय प्रणाली (पेग्ड एक्सचेञ्ज) रेटका कारण नेपाली मुद्रा कमजोर भएसँगै अर्थतन्त्रका वाह्य र आन्तरिक क्षेत्रमा असर पर्ने देखिएको हो ।
आइतबार (मंसिर १०) गते नेपाली रुपैयाँसँग एक अमेरिकी डलरको विनिमयदर १३३ रुपैयाँ ७० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च दर हो । यसरी डलरको मूल्य बढिरहँदा (नेपाली रुपैयाँ कमजोर हुँदा) नेपालले विदेशबाट आयात गर्ने सामानका लागि भुक्तानी गर्नुपर्ने रकम पनि स्वतः बढ्छ । वैदेशिक मुद्रा सञ्चितिमा पनि दबाब पर्छ ।
आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलर महगिँदा व्यापारघाटा र शोधनान्तर घाटा ह्वात्तै बढ्छ । डलरको भाउ रेकर्डस्तरमा पुगिरहँदा बाह्य क्षेत्रमा सन्तुलन कायम गर्न भन्दै सरकारले आयातमा थप कडाइ गर्ने सम्भावना बढेको छ । व्यापारदेखि नेपाल विद्युत प्राधिकरणले डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेका आयोजनाबाट किनेको बिजुलीको रकम भुक्तानी महँगो डलरमै गर्नुपर्दा नेपालमा सञ्चित विदेशी मुद्रा भण्डार रित्तिँदै जाने देखिएको छ ।

अर्कातर्फ महँगो डलर खर्चेर आयात गरिएका बस्तु तथा सेवा खरिदमा धेरै रकम खर्च गर्नुपर्दा उपभोक्ताहरु मारमा परिरहेका छन् ।

किन बढ्यो डलर ?

यतिखेर विश्वबजारमै अमेरिकी डलरको मूल्य लगातार बढिरहेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्षको जुलाईदेखि नै ब्याजदर बढाइदिँदा त्यसको असर भारु हुँदै नेपाली रुपैयाँसम्म परिरहेको हो । जुलाईमा अमेरिकाले २२ वर्ष यताकै उच्च ब्याजदर काम गरेको थियो ।

महँगी (मुद्रास्फीति)सँग जुध्न सन् २०२३ को अन्त्यसम्म ब्याजदर पुनः बढाउने संकेत दिएकाले विश्वभरका लगानीकर्ताहरु अमेरिकी डलरमा आकर्षित भइरहेका छन् । भारतबाट पनि अमेरिकातर्फ पूँजी पलायन हुँदा भारुको भाउ घटिरहेको छ ।

स्थिर विनिमय दर (पेग एक्सचेञ्ज रेट) का कारण भारुको भाउसँगै नेपाली रुपैयाँ पनि स्वतः अवमूल्यन हुँदा महँगो अमेरिकी डलरले आर्थिक शिथिलता खेपिरहेका नेपालीलाई थिचेको हो ।

वि.सं. २०१७ वैशाख १ गते कायम गरिएको भारु १०० को विनियमदर १६० रुपैयाँ अहिले पनि कायम छ । यसबीचमा विनिमयदर १०१, १३५, १४२, १७०, १६८ रुपैयाँ बनाइएको थियो । तर २०४९ फागुन १ गते फेरि १०० भारु बराबर १६० नेपाली रुपैयाँ पेग्ड गरिएको थियो । तर, मौद्रिक स्थिरताका लागि भन्दै भारतसँग गरिएको करेन्सी पेगले नेपालीलाई डलरको भाउ बढेसँगै अत्याउने गरेको छ ।

‘घाटामात्रै भयो, पेग्डबाट फ्लोटिङमा जानुपर्छ’

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवकुमार अधिकारी भारुसँग कायम पेग्ड रेट छाडेर नेपालले अब फ्लोटिङ रेट अपनाउनुपर्ने बताउँछन् ।

‘यसले उत्पादनसम्म नै असर गरेको छ । उत्पादनमूलक कामको साटो सुनचाँदी र शेयरसम्ममा मानिसहरु आकर्षित हुनुमा भारतसँगको करेन्सी पेग पनि प्रमुख कारण हो,’ उनी भन्छन्, ‘वर्षाैंदेखि भारुसँग करेन्सी पेग यथावत् राख्दा त्यसको सञ्चिति प्रभाव बढ्दै गयो र नेपालमा नकारात्मक असर पर्न थालेको छ ।’

स्थिर विनिमयदर नै कायम राख्ने भए बजारको वस्तुस्थिति हेरेर बढाउने या घटाउने गर्नुपर्ने प्रा.डा. अधिकारीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*