चाडपर्व नजिक आइसक्दा पनि सुधार हुन सकेन सडकको अवस्थामा

बकैया दर्पण संवाददाता
१७ आश्विन २०८०, बुधबार १४:३५

मकवानपुर । दशैँ अगाडि नै सडक मर्मतको काम सक्ने सडक विभागले जनाएको छ ।

मुख्य चाडपर्व दशैँ, तिहार तथा छठ पर्व नजिकिए पनि सडकको अवस्थामा सुधार हुन नसकेको गुनासो बढेपछि विभागले दशैँको फूलपाती अगाडि नै सडक मर्मतको काम सक्ने दाबी गरेको हो ।

सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता रामहरि पोखरेलले मुग्लिन–नारायणगढ, नारायणगढ–बुटवल, नागढुङ्गा–नौबिस सडक खण्ड, अरनिको राजमार्गलगायत काठमाण्डौ उपत्यकाका सडक पनि मर्मत गर्ने बताउनुभयो ।

यस्तै, उहाँले यी सडक खण्डमा पहिरो खसे तत्काल सडक खुलाउन उपकरण पनि तयारी अवस्थामा राखिने बताउनु भएको छ । तर, फूलपाती अघि नै सडक मर्मतको काम सक्ने दाबी गरिए पनि पूरा हुने सम्भावना कम छ । कतिपय सडक निर्माणाधीन अवस्थामा छन् भने कतिपयमा धमाधम विस्तार भइरहेको छ । सडक जथाभाबी भत्काइएको छ । यसरी भत्काइएका सडक तत्काल बन्ने सम्भावना छैन ।

यस्तै, कतिपय ठाउँमा कामदार र उपकरणको समेत अभाव छ । सडक विभागले चाडपर्वलाई लक्षित गरेर सडकको खाल्डाखुल्डी भने पुर्न सक्छ । यातायात व्यवसायीले सडकको अवस्था सुधार नगरेसम्म अग्रिम टिकट बुकिङ खुलाउन नसक्ने बताएका छन् । सडक विभागले भने झरी परिरहेकाले सडक मर्मतमा समस्या भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*