सुरक्षा चुनौती बन्दै साना हतियार, तीन वर्षमा कति भए बरामद ?

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १५:५७

मकवानपुर । भक्तपुर मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले १४ भदौमा दुई थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित एकजनालाई पक्राउ गर्‍यो ।

सडकमा शंकास्पद गतिविधि गरिरहेका उदयपुर बलैया नगरपालिका–५ घर भई लोकन्थली बस्दै आएका ४० वर्षीय जंगे माझीलाई प्रहरीले खानतलासी गर्दा उनको साथबाट पेस्तोल र गोली फेला परेको थियो ।

उनीसँगै बा४३प ९००० नम्बरको स्कुटरसहित लोकन्थली पुगेका अर्का ३० वर्षीय युवा अश्विन दाहाल भने भाग्न सफल भए । प्रहरीले दाहालको खोजी कार्य अझैँ जारी रहेको जनाएको छ ।

त्यसको चारदिन अघिमात्रै काठमाडौं प्रहरीको विशेष टोलीले ८ भदौमा बूढानीलकण्ठबाट सुलभ भन्ने सुरज श्रेष्ठलाई पनि पेस्तोलसहित पक्राउ गरेको थियो ।

२८ वर्षीय श्रेष्ठको साथबाट प्रहरीले चार राउन्ड गोलीसहितको अमेरिकन पेस्तोल बरामद गरेको हो । लागुऔषध तथा गुण्डागर्दीमा संलग्न चावहिल घर भएका श्रेष्ठ यसअघि २०६७ मा पनि पक्राउ परेका थिए ।

रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेर पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेलगत्तै उनी फेरि पेस्तोलसहित पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकामा मात्रै होइन, बाहिर पनि पछिल्लो समय पेस्तोल बोकेर अवैध धन्दामा हिँड्ने व्याक्ति भटाभटी पक्राउ पर्न थालेका छन् ।

११ भदौमा सुनसरी बर्जु गाउँपालिका–६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरको साथबाट समेत प्रहरीले कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद गरेको थियो ।

त्यस्तै, सिरहा प्रहरीले २२ जेठमा सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट १८ वर्षीय किशोरलाई पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गर्‍यो । प्रहरीले पेस्तोलसहित पछिल्लो समय नियमित जस्तै विभिन्न व्यक्तिलाई पक्राउ गरिरहेको छ ।

२२ जेठमा बाँके प्रहरीले नेपालगञ्ज–१२ स्थित किङक्रस क्लबबाट अटोमेटिक पेस्तोल र एक राउन्ड गोलीसहित बर्दिया बाँसगढी नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन रिजाललाई पक्राउ गर्यो । २७ चैतमा मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–३ बसामाडी सरस्वरी पेट्रोल पम्प नजिकबाट म्याग्जिनसहितको अटोमेटिक पेस्तोलसहित पदमपोखरी भोर्लेका ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई पक्राउ गरेको थियो ।

यी केही प्रतिनिधि घटना मात्रै हुन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकले देशभर साना हतियारको बिगबिगी रहेको देखाउँछ । जुन् सुरक्षाको दृष्टिकोणले निक्कै सम्वेदनशील मानिन्छ ।

पूर्वडीआईजी हेमन्त मल्ल साना हतियारको जोखिम संसारभर हुने गरे पनि नेपालमा भित्रिने हतियारबारे भने केही व्यापारिक हिसाबले पनि भित्रिने गरेको दाबी गर्छन् । “आपराधिक समूहबाहेक नेपाल भित्रिने हतियार व्यापारिक रुपले भित्रिएको हुन्छ । हतियारको राजधानी नेपाल जस्तै बनेको छ,” उनी भन्छन् ।

साना हतियार भण्डार हुनु सुरक्षाको हिसाबले निकै जोखिमपूर्ण मानिन्छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले देशभरको सुरक्षा अवस्था झस्काउने गरी साना हतियार बरामद भएको देखाएको छ ।

तीन वर्षमा कुल २१४ साना हतियार पेस्तोल बरामद भएको छ । त्यसमध्ये २६ वटा आधुनिक अमेरिकन पेस्तोल बरामद भएका छन् ।

पेस्तोलसँगै प्रहरीले त्यसमा लाग्ने ४८५ गोलीसमेत बरामद गरेको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलले समेत बेलाबेलामा पेस्तोलसहित मानिस नियन्त्रणमा लिने गरेको छ, जुन् तथ्यांक अझ बढ्नेछ ।

कहाँबाट भित्रिन्छन् पेस्तोल ?

नेपालमा भित्रिने अवैध साना–ठूला सबैखाले हतियारहरु सीमा नाकाबाट भित्रिने गरेको अनुसन्धानबाट देखिएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले देशका विभिन्न सीमा नाकाहरुबाट त्यसरी अवैध हतियार आउने गरेको बताए ।

उनी भन्छन्, “अधिकांश बरामद भएका पेस्तोलहरु कटुवा पेस्तोल हुन्छन् । ती छिमेकी मुलुकबाट सीमा नाकाहुँदै सहजै नेपाल पुग्छन् ।”

अवैध हतियार र गतिविधि नियन्त्रणको लागि पछिल्लो समय प्रहरीले सीमा नाका तथा शंकास्पद व्याक्तिलाई सडकमै पनि खानतलासी गर्ने गरेको उनको भनाइ छ ।

साना हतियार देखाएर आपराधिक गतिविधि गर्न सहज हुने र लुकाएर हिँड्न पनि सजिलो हुने हुँदा अवैध गतिविधि बढ्ने अनुमान प्रहरीको छ । जसको नियन्त्रण प्रहरीको लागि चुनौती बन्दै गएको डीआईजी कडायत स्वीकार गर्छन् । (बाह्रखरी)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*