बालिका मृत्यु घटना छानबिनका लागि कान्ति बाल अस्पतालले गर्‍यो समिति गठन

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १४:२६

मकवानपुर । कान्ति बाल अस्पतालको इमर्जेन्सीमा सोमबार भएको बालिका मृत्युको घटना छानबिनका लागि समिति गठन गरिएको छ ।

अस्पतालले डा। प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई पाँच दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दै गर्दा मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भएको थियो ।

उच्च ज्वरोका कारण अस्पताल पुर्‍याइएकी उनको ओपीडी बन्द भएपछि इमर्जेन्सीमा जाँच गर्न नपाउँदै मृत्यु भएको परिवारले बताएका छन् । इमर्जेन्सीमा ८० मिनेट कुराइएकी रेजिशाको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ ।

कान्ति बाल अस्पतालको ओपीडी सेवाका लागि टिकट १ बजेबाटै बन्द हुने गरेको छ । त्यसपछि आउने बिरामीलाई अस्पतालको इमर्जेन्सीमा सिधै भर्ना गरी अवस्था हेरेर उपचार गर्ने गरिएको छ ।

तर, सोमबार साँझ ५ बजे अस्पताल पुर्‍याइएकी उनको ८० मिनेट लाइनमै कुर्दापनि पालो नआएको र हजुरबुबाकै काखमा मृत्यु भएको परिवारले बताएका छन् ।

घटनापछि अस्पतालले बिरामीको अवस्था हेरेर अति आकस्मिकलाई टिकट नलिइ रातो कार्ड, मध्यम सिकिस्तलाई पहेंलो र सामान्यलाई हरियो कार्ड दिएर उपचारको प्रबन्ध गर्ने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*