२०३० सालमै लागेको थियो सिंहदरबारमा आगो

बकैया दर्पण संवाददाता
१७ भाद्र २०८०, आईतवार १६:३५

मकवानपुर । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे(
आजको लागी केहि भएन,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

बालेनले कुन आवेग वा मनोभावमा सो स्टाटस लेखे, उनी आफैंले त्यसबारेमा केही खुलाएका छैनन्। उनले सिंहदरबारमा आगो लगाउलान् भन्ने पनि कमैले विश्वास गरेका होलान्। तर, यस्तो होइन कि सिंहदरबारमा कहिल्यै आगो लागेको थिएन। अवश्य लागेको थियो, २०३० सालमै।

आगो लाग्नुअघि यो एसियाकै ठूलोमध्येको प्रशासनिक भवन मानिन्थ्यो। कलात्मक भएका कारण यो चर्चित पनि थियो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाको काठमाडौंका ठूला दरबारमध्ये कुनै किन्न खोजेका थिए। तर कुरा नमिलेपछि उनले नै सिंहदरबार बनाउन लगाएका थिए। पछि उनले सरकारी ढुकुटीबाट २ करोड रुपैयाँ लिएर सो भवन नेपाल सरकारलाई बेचेका थिए र जो श्री ३ महाराज हुन्छ, उसैले सो भवनमा बस्न पाउने बताएका थिए। त्यसपछि सो भवन नेपालको प्रमुख प्रशासनिक केन्द्रको रुपमा रह्यो।

२०३० असार २५ गते राति १० बजेतिर सोही सिंहदरबारमा आगो लागेको थियो। आगलागीमा परेर पूर्व मोहडा ध्वस्त भएको थियो, त्यसपछि आगोबाट अगाडिको भाग जोगाउनका लागि तोप प्रयोग गरी पछाडिको भाग भत्काइएको थियो। पछि पुनर्निर्माण गर्दा त्यही अगाडिको भागसँग जोडेर पछिल्लो भाग बनाइएको हो।

सार्वजनिक भएका विवरणका आधारमा, राति विद्युत् ‘सर्टु भएर आगलागी भएको थियो। यद्यपि, परराष्ट्र मन्त्रालयसँग सम्बन्धित कतिपय दुर्लभ दस्तावेजहरू पनि जलेका कारण त्यो आगलागी नियोजित थियो भनेर आशंका पनि गरिन्छ। कारण जे भएता पनि नेपालको मुख्य प्रशासनिक भवन जल्यो। ठूलो मात्रामा भौतिक क्षति पनि भयो। आगलागीमा परेर मानवीय क्षति भने नभएको बताइन्छ।

आगो नियन्त्रणका लागि तत्कालीन शाही नेपाली सेना खटिएको थियो।

आगलागीको भोलिपल्ट बिहान तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य अवलोकनका लागि पुगेका थिए।

आगलागीका बेला नेपालका प्रधानमन्त्री थिए, कीर्तिनिधि विष्ट। आगलागीको खबर सुन्नासाथै उनी राति नै बालुवाटारबाट सिंहदरबार पुगेका थिए। नेपाल साप्ताहिकमा २०७० सालमा प्रकाशित उनको संस्मरणअनुसार, तत्कालीन नाचघर अर्थात् राष्ट्रिय पञ्चायत भवनमा पुगेर आगलागीको त्यो दृश्य हेररिहँदा मेरा आँखा थामिएनन्। सिंहदरबारमा लागेको त्यो आगोको राप पुतलीसडक, थापाथली, बानेश्वर, घट्टेकुलो र भद्रकालीसम्म पुगेको थियो।

‘रातभरि त्यहाँ बसेर बिहान बालुवाटार फर्किरहँदा मेरो हालत युद्धमा सबै कुरा हारेर लुरुलुरु घर फर्किएको सिपाहीको जस्तो भएको थियो। बालुवाटार पुगेपछि राजा वीरेन्द्रलाई भेटेर नैतिकताको आधार दर्साउँदै आफ्नो राजीनामा पत्र बुझाएँ। तर, राजा वीरेन्द्रले राजीनामाको त्यो पत्र मलाई नै फर्काउँदै भने, ‘सिंहदरबारमा तिमीले आगो लगाएको होइन, तिमीले किन राजीनामा दिने ? राजीनामा पत्र आफ्नै खल्तीमा राख। मलाई सघाऊ। बस। राजीनामा दिने कुरा नगर।’ मेरो आत्माले त्यो कुरा मान्दै मानेन। मैले राजासामु ज्यादै विनम्रतापूर्वक भनेँ, ‘म प्रधानमन्त्री छु। मेरो जिम्मामा भएको राष्ट्रिय सम्पत्ति खरानी भयो। अब एक मिनेट पनि यस पदमा बस्न मेरो मनले दिएन।’ राजासँग विवाद नै पर्‍यो। मैले एकोहोरो जिद्दी गरेरै राजीनामा दिएँ,’ उनले भनेका थिए।

उनका अनुसार, राजीनामालगत्तै नेपालस्थित तत्कालीन भारतीय राजदूत एलपी सिंहले बालुवाटारमै आएर आफूलाई त्यति नै घटनाका आधारमा राजीनामा नै दिनुपर्ने जरुरी थिएन भनेका थिए। तर आफूले ’एउटा सामान्य रेलवे दुर्घटना हुँदा लालबहादुर शास्त्रीले किन प्रधानमन्त्रीको पदबाट राजीनामा दिएरु’ भन्ने प्रतिप्रश्न गरेको र सिंह नाजवाफ भएको उनको भनाइ थियो । (नेपाललाइभ)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*