बकैया–१२ मा पाँचसय दारको विरुवा वृक्षारोपण

बकैया दर्पण संवाददाता
७ भाद्र २०८०, बिहीबार १४:५६

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको पाँचसय विरुवा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो । एक हजार विरुवा रोप्ने लक्ष्य सहित वृक्षारोपण सुरु गरिएको छ ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण गर्न सबै सँग आग्रह गरे । विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक भएको बताए ।

अहिले दार, विजय साल, सादन लगायतका प्रजातीहरु लोप हुदै गएको र यसको संरक्षण गरि भावी पुस्तालाई उपहार दिनु पर्ने बताउदै सचिव दाहालले लोप हुन लागेका प्रजातीको संरक्षणमा लाग्न वनकर्मी, जनप्रतिनिधी, संरक्षणकर्मी, सामुदायिक वन, स्थानीय लगायतलाई आग्रह गरे । लोपोन्मुख प्रजातकीको विरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाईसकेको हुँदा दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले यस क्षेत्र दारको लागि उपयुक्त स्थान रहेको हुँदा चरीचरण नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताए ।

बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले दारको गोडमेल गर्ने कार्यमा गाउँपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा डिभिजवन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णु प्रसाद आचार्यले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका विरुवाहरु रहेको बताउदै यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गरे ।

दार संरक्षण समितिका अध्यक्ष मान बहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका–१२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, मकवानपुरगढीका प्रमुख डटेन्द्र गोले, शिवम सिमेन्टका अच्युत अधिकारी, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता थियो ।  (अनिरुद्र)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*