‘एक सातादेखि बाटो बिराएका’ पूर्वप्राध्यापक बेपत्ता

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १३:३८

मकवानपुर । त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक दलबबहादुर अधिकारी एक सातादेखि बेपत्ता भएका छन् । गत बिहीबार ११ बजे एक्लै घरबाट निस्किएका उनी अहिलेसम्म नफर्किएका हुन् ।

बूढानीलकण्ठको एउटा कोलोनीमा बसोबास गर्दै आएका अधिकारी नियमितजस्तै बिहीबार बिहान मर्निङ वाकमा गएका थिए । घर फर्केर खाजा खाएपछि उनी कसैलाई केही नभनी फेरि निस्किए । भाइ रनबहादुरका अनुसार चप्पल लगाएर हिँडेका उनले मोबाइल पनि बोकेका थिएनन् ।

सीसीटीभी फुटेजमा उनले बाटो बिराएको देखिएको छ । मर्निङवाक जाने ठाउँभन्दा विपरीत दिशामा गएको सीसीटीभीमा देखिएको रनबहादुरले बताए ।

‘दाइको अलिकति बिर्सिने बानी थियो र बाटो पहिल्याउन कठिनाइ हुन्थ्यो,’ उनले भने, ‘बाटो भुलिएरै हराउनुभयो भन्ने लागिरहेको छ ।’

मध्यान्ह १२स्२८ मा उनी मोहनपोखरी भन्ने ठाउँमा पुगेको सीसीटीभी फुटेजमा देखिएको छ । त्यहाँबाट कता लागे भन्ने चाहीँ कुनै पनि संकेत पाइएको छैन ।

उनी घरबाट निस्किँदा घरमा छोरामात्र थिए । छोरा पनि अनलाइन मिटिङमा व्यस्त भएकाले बुबा निस्किएको थाहा पाएनन् । कोलोनीका सुरक्षा गार्डलाई परिवारले उनको बिर्सने बानीबारे जानकारी गराइएको थियो र बाहिर निस्किएको बेला ध्यान दिन भनिएको थियो । तर, गार्डले उनी बाहिरिएको थाहा नपाएको बताएका छन् ।

त्रिविका प्राध्यापकका रूपमा अधिकारीले त्रिचन्द्र कलेजमा गणित पढाउँथे । त्रिविबाट रिटायर्ड भएपछि आफैंले स्थापना गरेको नेसनल कलेजमा उनले अध्यापन गर्दै आएका थिए । तर, अल्जाइमरको लक्षण देखिन थालेपछि उनले दुई वर्षअघि कलेज जान छोडेका थिए । अधिकारीका श्रीमती, छोरा र दुई छोरी छन् ।

अधिकारीको खोजिका लागि नेसनल कलेजका विद्यार्थीहरुले भोलिबाट अभियान नै थाल्न लागेका छन् । यसका लागि भोलि १० बजे नेसनल कलेजमा भेला बोलाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*