सीआईबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १२:४४

मकवानपुर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

सीआईबीले मंगलबार बिहान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन १ दिन अगाडिसम्म पनि सीआईबीले उक्त प्रकरणका आरोपीहरुसँग बयान लिएको थियो । सीआईबीले सोमबार मात्रै नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्व राज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।

सीआईबीले आइतबार राति पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको पनि ‘बयान’ लिएको थियो ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ । सीआईबीले भने सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी कागजात तथा दस्तखत किर्ने प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

सीआईबीले सुरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*