गौशाला २६ की आमाको पनि दुई जन्ममिति ?

बकैया दर्पण संवाददाता
३२ श्रावण २०८०, बिहीबार १५:५१

मकवानपुर । सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को जन्ममिति विवादित बनिरहँदा उनकी आमाको जन्ममितिमा पनि अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालत काठमाडौंले आज गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दियो ।

सरकारी रेकर्डमा गौशालाकी आमाको दुईवटा जन्ममिति देखिएको भन्दै जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले सो आदेश दिएका हुन् । आमाको जन्ममिति यकिन भएपश्चात मात्रै फैसला सुनवाइ सुरु हुने न्यायधीशले बताएका छन् ।

खासमा यो विषय पहिल्यै आएको हो । वडा कार्यालयले राखेको बसाईसराइ सम्बन्धी रेकर्डमा गौशालाकी आमाको जन्ममिति २०५३–११–२१ उल्लेख छ । यस्तै, छोराको जन्म मिति २०५९–७–८ र छोरीको जन्म मिति २०६१–०३–१८ लेखिएको छ ।

यो विवरणले आमा र छोराको उमेरमा ६ वर्ष तथा आमा र छोरीको उमेरमा ८ वर्ष मात्रै अन्तराल देखिन्छ जुन असम्भव हो । अन्य डकुमेन्टमा भने गौशालाकी आमाको जन्म मिति २०३५ साल उल्लेख छ । वडाले दिएको बसाइसराइको प्रमाणपत्रमा जन्म मिति २०३५ साल नै लेखिएको छ । सही जन्ममिति २०३५ साल नै भएको तर वडाको रेकर्डमा भुलवश २०५३ साल उल्लेख भएको दाबी गरिएको छ ।

गौशाला स्वयमको जन्ममिति त झनै बढी विवादित छ । सन्दीपका वकिलहरुले उनी बालिग भइसकेको भन्दै अस्पतालको कागज, जन्मदर्ता लगायत थुप्रै प्रमाण पेश गरेका छन् । गौशालाका वकिलहरुले भने उनी नाबालिग नै भएको भन्दै नागरिकता र शैक्षिक प्रमाणपत्रहरु देखाएका छन् ।

जन्मदर्ता प्रमाणपत्रको मूल कपीमा गौशालाको जन्ममिति २०६१–०३–१८ उल्लेख छ । यसबाट उनी गत वर्षको असार १८ गतेबाट १८ वर्ष कटेर बालिग भएको देखिन्छ । बसाइसराइको दर्ता किताबमा पनि यही मिति लेखिएको छ ।

गौशाला(२६ को जन्मदर्ता र नागरिकतामा उमेर ११ महिना तलमाथि भएको छ । उनको पहिलोपटक जन्मदर्ता २०७५–०९–१८ मा गरिएको थियो भने फरक जन्ममिति बनाएर गत वर्ष असार १४ गते प्रतिलिपि दिइएको थियो । यही प्रतिलिपीका आधारमा नागरिकता बनेको छ ।

गौशाला–२६को जन्म भएको अस्पतालले दिएको कागज पनि अदालतमा पेश भइसकेको छ । उक्त कागजमा जन्ममिति २०६१–०२–१८ गते उल्लेख रहेको स्रोतले बतायो । यो कागजले गौशाला नाबालिग नरहेको देखाउँछ । (नेपालप्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*