सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १६:०९

मकवानपुर । सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले थप चार जना चिनियाँलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले नेपाल लाइभलाई जानकारी दिए ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई म्याद थप गर्न पठाइएको प्रहरीले जनाएको छ । यसअघि सोमबार मात्रै थप तीन चिनियाँ नागरिकलाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरुबाट ३१ लाख रुपैयाँ बरामद समेत भएको थियो ।

सोमबार चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ‘१ क्विन्टल’ सुन बरामद गरेको थियो ।

मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडमा मोरेर ल्याइएको अवस्थामा सुन बरामद भएको थियो । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन ब्रेक सुबाट अलग्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार विभागले उक्त सुन मंगलबार गालिसकेको छ ।

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुरुवाती अनुसन्धान गरेकामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । सीआईबीले राजस्व छलिका अतिरिक्त संगठित अपराध लगयातमा अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*